ताप्लेजुङबाट तीन जनालाई गैर आवासीय नेपाली नागरिकता

बुधबार, १० माघ २०८०
ताप्लेजुङ : ताप्लेजुङ जिल्लाबाट अहिलेसम्म तीन जनालाई गैर आवासीय नेपाली नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले हालसम्ममा तीन जनालाई गैर आवासीय नागरिकता प्रदान गरेको हो । कार्यालयका नायव सुब्बा रमेशप्रसाद सिग्देलका अनुसार ताप्लेजुङबाट अहिले सम्म तीनवटा गैर आवासीय नेपाली नागरिकता जारी भएको बताए । नर्वे बस्दै आएका आठराई त्रिवेणी गाउँपालिका वडा नं १ निघुरादिनका बिशालकुमार सिटौलालाई ताप्लेजुङबाट पहिलो गैर आवासीय नेपाली नागरिकता वितरण गरिएको हो । दोस्रोमा संयुक्त अधिराज्य बस्ने मेरिङदेन गाउँपालिका वडा नं २ सान्थाक्राका सविता लिम्बू र पछिल्लो समय अस्ट्रेलिया बस्ने फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलाका टाँसी लामा शेर्पालाई गैर आवासीय नेपाली नागरिकता प्रदान गरिएको हो । सम्बन्धित वडाको सिफारिस सहितको निवेदन, नेपाली नागरिकता त्याग गरेको प्रमाण÷नेपाली नागरिकताको प्रमाणपत्र, विदेशी मुलुकको नागरिकता÷नागरिक भएको प्रमाण, सार्क सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको प्रमाण, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि सहितका कागजात पेस गरेको खण्डमा सम्बन्धित प्रशासन कार्यालयबाट गैर आवासीय नेपाली नागरिकता प्रदान हुन सक्ने व्यवस्था रहेको छ । गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्रको हकमा राजनीतिक तथा प्रशासनिक अधिकारबाहेकका सम्पूर्ण अधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार