इटहरीकी कोइराला स्वयंसेवी हुँदै राष्ट्रियसभा सदस्य

विहीबार, ११ माघ २०८०
इटहरी- कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा विजयी भएकी रुक्मिणी कोइराला इटहरी २ निवासी हुन् । उनी एमालेको तर्फबाट राष्ट्रियसभा निर्वाचनमा माओबादीकी चम्पादेवी कार्कीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । भूमिगत गतिविधिबाट राजीतिमा सक्रिय बनेकी कोइराला ०४६ सालपछि राजनीतिमा उदाएकी नेत्री हुन् । नेकपा एमालेका त्यागी नेता स्व. ओम कोइरालाकी बुहारी (भाइकी श्रीमती) उनी घरको बुहारीका रूपमा काम गर्थिन् । त्यसबेला कोइराला परिवारमा मदन भण्डारीसहितका एमाले नेताहरू आउँथे । भूमिगत गतिविधि पनि उनको घरबाटै सञ्चालन हुन्थ्यो । त्यसैबेलादेखि पार्टीका नेताहरूसँग चिरपरिचित रहेकी उनले ०४६ सालबाट सक्रिय रूपमा राजनीतिमा होमिइन् । उनी यसअघि पार्टीको जिल्ला, प्रदेश सदस्य हुँदै हाल अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य छिन् । इटहरी २ का वडाध्यक्षसमेत रहेका उनका देवर माधव कोइरालाका अनुसार पार्टीमा निरन्तरता र सक्रियताकै कारण आज उनी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् । ‘भाउजूले सानै उमेरमा दाइसँग बिहे गर्नुभएको हो । दाइ दस कक्षामा पढ्नुहुन्थ्यो । बिहे भएर आएको कुरा मलाई थाहा नै छैन,’ कोइरालाले भने, ‘जेठा दाइ –ओम कोइराला) पहिलादेखि नै राजनीतिमा लाग्नुभयो । यसै क्रममा हाम्रो घरबाट भूमिगत गतिविधि पनि हुन्थ्यो । हाम्रोमा आएका नेताहरूलाई भाउजूले चिया पकाएर दिने गर्नुहुन्थ्यो । त्यही क्रममा नेताहरूसँग पनि राम्रो सम्बन्ध भयो ।’ नेताहरू आउजाउ भइरहने र सोही प्रभावका कारण उनी पनि पार्टीको सदस्य हुँदै हाल राष्ट्रियसभामा निर्वाचित भएकी छन् । नेताहरूसँगको घुलमिलका कारण पार्टी राजनीतिमा सक्रिय हुँदै उनी निरन्तर योगदान गर्दै गइन् । फलस्वरुप २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा उनले इटहरी वडा नं. २ बाट महिला सदस्यमा निर्वाचित भइन् । महिला सदस्यमा निर्वाचित भएर जनसेवामा खटिएकी उनी पछि स्वयम्सेवकसमेत बनिन् । उनी इटहरी २ मा स्वयम्सेवक थिइन् । केही समयअघि मात्रै उनले सो पदबाट राजीनामा दिएकी हुन् । दुई छोरा र दुई छोरीकी आमा रुक्मिणीको निरन्तरता नै सफलताको सुत्र रहेको जानकारहरू बताउँछन् । ‘भाउजू यो बीचको समयमा निकै बिरामी पनि हुनुभयो । तर, बिरामी भएपनि पार्टीमा निरन्तर लाग्नुभयो । पार्टीको जे जिम्मा दिन्छ त्यसलाई सक्रियतापूर्वक निर्वाह गर्नुभयो,’ वडाध्यक्ष कोइरालाले भने, ‘सोही निरन्तरताकै कारण आज सफलता मिलेको छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार