प्रधानमन्त्रीको आफ्नो मान्छे हु भन्दै करोडौँ ठगी गर्ने दुई जना इटहरीबाट पक्राउ

विहीबार, ११ माघ २०८०
इटहरी-इटहरीमा एक करोड ३० लाख ठगी गरेको भन्दै दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका १० का प्रदीप कुमार चौधरी र मोरङको सुन्दरहरैँचा नगरपालिका ५ बस्ने अन्जु चौधरी रहेका छन् । प्रदीपलाई प्रहरीले यसअघि नै पक्राउ गरेको हो भने अञ्जुलाई बुधबार साँझ पक्राउ गरिएको हो । उनीहरूले विराटनगर महानगरपालिका १ बस्ने कमल राजवंशीसहित ३९ जना पीडितमार्फत एक करोड ३० लाख एक हजार ठगी गरेको खुलेको डीएसपी कार्कीले बताए । ‘प्रधानमन्त्री आफ्नै मान्छे हुन्,’ ‘प्रहरीको आइजीपीलाई कति पैसा बुझाएको छु,’ ‘युएनमा समेत मान्छ् छन्,’ भनेर ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । ‘युएन प्रोजेक्ट लगायतमा जागिर खान मन छ भने हामी तपाईँहरूले भनेजस्तै जागिर लगाइदिन्छौँ भनी झुक्याएर पैसा ठगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डीएसपी कार्कीले भने, ‘पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ ।’ डीएसपी कार्कीका अनुसार उनीहरूले लोकसेवा आयोगदेखि, आर्मी, पुलिस हुँदै एनजिओसम्ममा जागिर लगाइदिने भन्दै पैसा लिएका हुन् । पीडिहरूले ३ लाख देखि माथि १५ लाखसम्म दिएको खुलेको छ । बढीजसो सुनसरी र मोरङका पीडित रहेका छन् भने अन्य जिल्लाबाट पनि पीडितको संख्या आएको डीएसपी कार्कीले जानकारी दिए । दुवैजनाविरुद्व सुनसरी जिल्ला अदालतबाट ठगी शीर्षकमा बिहीबार पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार