देशमा गणतन्त्र ल्याउन भूमिका खेलेका उनी गणतन्त्र विरोधीहरुकै निसाना बन्दै आएका थिए । झापा(३ का पुराना सांसद उनी २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा राजावादी नेता तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । उनलाई पराजित गर्न र राप्रपालाई सघाउन एमालेले दुवै पटक राप्रपासँग तालमेल गरेको थियो ।यसपटक भने सिटौलाले संसद् प्रवेश गर्नका लागि राष्ट्रिय सभाको बाटो रोजेका थिए । सत्ता गठबन्धनका साझा उम्मेद्वार उनले एमालेको समर्थन पाएका राप्रपा उम्मेदवार उद्धव पौडेललाई पराजित गरे । सिटौला ५ हजार दुई सय ९२ मतभारसहित निर्वाचित हुँदा पौडेलले चार हजार पाँच सय ६२ मतभार पाएका थिए । ‘सिटौलाका लागि राप्रपा सधै वाधा बनेर उभिएको थियो’, कांगेसका एक नेताले भने,‘यसपटक भने राप्रपाको केही जोर चलेन ।’ कुनै समय पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र मानिने सिटौला कोइरालाकै गृह नगरमा भएको राष्ट्रिय सभा निर्वाचनपछि सत्ता राजनीतिमा पुनरागमन गरेका हुन् । लामो समय सत्ता राजनीतिको केन्द्रमै रहेका उनी २०७४ र २०७९ को प्रतिनिधि सभा चुनावमा पराजय व्यहोरेपछि राजनीतिबाट किनाराकृत बन्दै गएका थिए । सिटौलालाई हराउन एमाले–राप्रपा वीचको तालमेल पुरानै हो । अघिल्लो दुई प्रतिनिधिसभा निर्वाचनमा पनि एमालेले सिटौला हराउनकै लागि राप्रपासँग तालमेल गरेको थियो । नभन्दै सिटौलालाई राजेन्द्र लिङ्देन पराजित गरे ।
सिटौला–लिङ्देनबीच पहिलो चुनावी भीडन्त तत्कालिन झापा-१ बाट २०५६ मा भएको थियो । त्यो बेला राप्रपा एक्लै चुनावी मैदानमा थियो । तसर्थ सिटौला निर्वाचित भए ।२०६४ को पहिलो संविधानसभा चुनावमा लिङ्देन उम्मेद्वार थिएनन् । त्यो बेला सिटौलाका प्रतिष्पर्धी थिए, माओवादी नेता पूर्णसिंह राजवंशी । राजवंशीले सिटौलालाई भारी मतले पराजित गरेका थिए । २०७० को दोस्रो संविधानसभामा लिङदेन पुनः उम्मेद्वार बने । उनका निकटतम प्रतिष्पर्धी थिए, सिटौला । सिटौलाले दोस्रो पटक जित्दा लिङ्देन पराजित बनेका थिए । जानकारहरुका अनुसार यसपटक पनि एमाले–राप्रपा सिटौला हराउने अभियानमा जुटेका थिए । तर, त्यो सम्भव भएन । श्रोतका अनुसार सत्ता गठवन्धनले उनलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनकै लागि उम्मेद्वार बनाएको हो ।
प्रतिक्रिया