विराटनगर । मोरङको कटहरीमा शुक्रबार बिहान ट्रकमा लोड गरेर ल्याइएको जुटमा आगलागी भएको छ ।
भारतीय नम्बरको ट्रकमा लोड गरेर ल्याइएको जुटमा कटहरी गाउँपालिका–१ मा आगलागी भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार एनएल ०२ एन २०७८ नम्बरको ट्रकमा लोड गरेर कटहरी–१ स्थित बाबा जुट मिल्समा ल्याउँदै गरेको जुटमा बिहान ९ः३० बजेतिर आगलागी भएको हो ।
भारत विहार ठाकुरगंजका सुरेश अग्रवालले हैसियन नामको जुट लोड गरेर ल्याएका थिए ।
दाहालका अनुसार बाबा आयलको काँटामा नापतौल गर्ने क्रममा जेनेटरको पाइपबाट निस्किएको आगोको झिल्काबाट जुटमा अचानक आगलागी भएको खुलेको छ ।
बोरा बनाउनका लागि भारतबाट करिब ७ मेट्रिक टन कच्चा जुट बाबा जुट मिल्समा ल्याइएको थियो ।
जुट मिल्सका कामदार, स्थानीय, दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट जुटमा आंशिक क्षति पुगेको र ट्रकमा केही नभएको प्रहरीले जनाएको छ । आगलागीबाट ५६ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
त्यस्तै, मोरङको मिक्लाजुङ गाउँपालिका–१ का तिलबहादुर विश्वकर्माको घरमा आगलागी भएको छ ।
काठ र बाँस प्रयोग गरी कर्कटपाताको छानो राखेर बनाइएको एक तले घरमा आगलागी भएको हो । डालोमा राखिएको कोइलाबाट बिहीबार आगलागी भएको प्रहरीले जनाएको छ ।
तर, घटनाका बारेमा प्रहरीले शुक्रबार मात्रै जानकारी पाएको थियो । डीएसपी दाहालका अनुसार आगोले घरसहित अन्नपात, भाँडावर्तन, लत्ताकपडा, काजपत्रलगायत पूर्ण रूपमा जलेर ध्वस्त भएको छ ।
आगोले २ लाखभन्दा बढीको क्षति भएको उनले बताए । मानवीय र चौपाया क्षति नभएको नभएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया