धरान । नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङले काँग्रेस सत्तामा रहोस् नरहोस् तर जनताको मनमा रहनुपर्ने बताएका छन् । नेपाली काँग्रेस पार्टी देश र जनताको चाहना र भावना बमोजिम स्थापना भएको डेमोक्रेटिक पाटी भएकाले काँग्रेसले सत्तालाई भन्दा जनतालाई प्राथमिकता दिनुपर्ने उनले बताएका छन् ।
नेपाली काँग्रेस धरान ५ ले “रक्तदान जीवनदान”भन्ने नाराका साथ आयोजना गरेको रक्तदान कार्यक्रममा प्रमुख अतिथि समेत रहेका तामाङले यस्तो बताएका हुन् । उनले पाटीले जनता र समुदायलक्षित सामाजिक एवम् मानवीय सेवाका पक्षमा र सुशासनको क्षेत्रमा विशेष कार्य गर्नुपर्ने भन्दै नेपाली काँग्रेस धरान ५ ले उदाहरणीय कार्य गरेकोमा प्रशंसा गरे ।
नेपाली काँग्रेस, धरानको मासिक रूपमा रक्तदान कार्यक्रम आयोजना गर्ने नीति अनुरूप यस पटक वडा नं.५ ले नेपाल रेडक्रस सोसाइटी, सुनसरीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको वडा सभापति कुमार देवानले बताए । उनले ५४ पुरुष र २४ पुरुष गरी ७८ जनाले रक्तदान गरेकोमा ७८ पिन्ट रगत सङ्कलन भएको बताए ।
कार्यक्रममा नगर सभापति श्याम पोखरेल, सचिव हिमाल श्रेष्ठ, हिमाली मा.वि. का प्रधानाध्यापक एम कुमार खत्री, देउराली चिल्डे«न एकेडेमीका प्रिन्सिपल नवीन गौतम, लिङ्देन समाज धरानका अध्यक्ष मान बहादुर लिम्बु, वडा उपसभापति जीवन लिम्बु लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमलाई आर्थिक तथा भौतिक सहयोग गर्ने र रक्तदान गरी सहयोग गर्नेहरूलाई सम्मान–पत्र, कदर–पत्र र प्रशंसा–पत्र प्रदान गरिएको थियो ।
उनीहरूलाई क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, महासमिति सदस्य तिलक राई, नगर सभापति श्याम पोखरेल, १८ नं. वडा अध्यक्ष तथा नगर उपसभापति नरेन्द्रकुमार राई(प्रविन), प्रदेशसभा १(१) उपसभापति झुमा देवी राई, प्रदेशसभा १(१) कोषाध्यक्ष रमिन सुब्बा गुरुङ, नगर उपसभापति सन्तोष लिम्बु, नगर सचिव हिमाल श्रेष्ठ, नगर सचिव जितेन्द्र राई, वडा सभापति कुमार देवान, क्षेत्रीय सदस्यद्धय ध्रुव गिरी र कमला श्रेष्ठ लगायतले प्रमाण–पत्र प्रदान गरेका थिए ।
प्रतिक्रिया