विराटनगर / घर भाडामा लिएर गाँजा भण्डारण गर्ने एक समूह विराटनगरबाट पक्राउ परेको छ । सशस्त्र प्रहरीले १ सय २१ किलोग्राम गाँजासहित ४ जना पक्राउ गरेको हो ।
विराटनगर महानगरपालिका–१३ सैनिक टोलका २२ वर्षीय राम अवतार साह, विराटनगर–१६ बर्मा टोलका २३ वर्षीय राजकुमार मण्डल, २० वर्षीय उमेश राजवंशी र बाराको कोल्हवी नगरपालिका–९ का ३६ वर्षीय रवीन्द्रप्रसाद चौधरीलाई सशस्त्रले पक्राउ गरेको हो ।
घरको परिसरमा गाँजा भण्डारण गरेका उनीहरू भने १ तले पक्की घरभित्र बसिरहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल कोसी प्रदेशका प्रमुख डिआइजी अन्जनीकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार विराटनगर–१० तीनटोलियास्थित गुराँस टोलबाट कम्पाउन्डले घेरेको घरको पछाडि घाँसमा लुकाएर राखिएको ठुलो परिणामको गाँजा बरामद भएको हो ।
पक्राउ परेकाको साथबाट नेपाली १ लाख ४० हजार ७ सय ७० रुपैयाँसमेत बरामद भएको छ ।
पक्राउ परेकामध्ये राम अवतार साहले वीरेन्द्रप्रसाद चौधरीको घर १ साताअघि भाडामा लिएको पत्ता लागेको छ । पूरै खाली रहेको घरमा अरू केही नभएको जनाइएको छ ।
लागू औषध गाँजाको भण्डारण र कारोबारकै लागि घर भाडामा लिएको प्रहरीको भनाइ छ । प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले घर तथा कम्पाउन्ड खानतलासी गर्दा गाँजा फेला परेको डिआइजी पोखरेलको भनाइ छ । सशस्त्र प्रहरीले पक्राउ परेकाको साथबाट को २ च १२१६ नम्बरको भ्यान, प्रदेश १–०२–०४४ प १४८५ नम्बरको मोटरसाइकल, २ वटा चाँदीको बाला, ५ वटा मोबाइल र नेपाली १ लाख ४० हजार ७ सय ७० रुपैयाँ बरामद गरेको छ ।
बरामद भएको गाँजा, नगद, सवारीसाधन र मोबाइलसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ ।
प्रतिक्रिया