इटहरीमा विभिन्न समयमा सम्झौता गरेर १४ वटा आयोजनाको काम सम्पन्न गर्ने जिम्मा ठेकेदार कम्पनीहरुले लिएका थिए । सडक ग्राभेल तथा कालोपत्रे एवं सार्वजनिक स्मार्ट शौचालय, प्रहरी चौकी तथा अस्पताल लगायतका विभिन्न भवन, खोला तथा पैनीमा पुल निर्माण र करिडोर निर्माण लगायतका आयोजना अलपत्र अवस्थामा छन् ।सम्झौता अनुसार आयोजनाहरु गत असार मसान्तमै निर्माण सम्पन्न गर्नुपर्ने हो । तर, निर्माण कार्य अलपत्र छाडेर ठेकेदार सम्पर्कविहीन बनेको इन्जिनियर जीवन घिमिरेले बताए । ‘हामीले पटक–पटक सम्पर्कको प्रयास गर्यौं । तर, ठेकेदार सम्पर्कमा आएनन्,’ उनले भने, ‘आयोजनाहरु अलपत्र, अस्तव्यस्त र अपुरा छन् । सम्पर्कमा आउन यसअघि जारी गरिएको सूचनालाई ठेकेदारले बेवास्ता गरे ।’ इन्जिनियर घिमिरेका अनुसार निर्माणको म्याद सकिएपछि सम्पर्कमा आएर ठेकेदारले योजनाको अद्यावधिक गर्नुपर्ने थियो । ‘गत भदौ १ गते ७ दिने सूचना जारी गरिएको थियो । तर पनि ठेकेदार सम्पर्कविहीन नै रहे,’ उनले भने, ‘इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरेर कारबाहीको प्रक्रिया अघि बढाइएको छ । १५ दिने स्पष्टीकरणसमेत सोधिएको छ ।’
घिमिरेका अनुसार ठेकेदारको लापरबाहीले खनारको प्रहरी चौकी, इटहरी उपमहानगर–१२, १३ र १४ को भानु मार्ग–भारवी सडक कालोपत्रे, इटहरी–६ को सार्वजनिक स्मार्ट शौचालय, इटहरी–१६ स्थित हक्राह खोलाको बक्स पुल, इटहरी–१५ को भोटिया खोला पुल, इटहरी–१० को संग्राहालय भवन, इटहरी–९ मा १५ शैयाको अस्पताल भवन र इटहरी–६ को ट्यांग्रा करिडोर रिटेनिङ वाल निर्माणसहित विभिन्न वडामा सडक कालोपत्रे तथा ग्राभेललगायतका आयोजनाहरु अलपत्र छन् । ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्ने तयारीआयोजना अलपत्र छाडेर लामो समयदेखि सम्पर्क विहीन बनेका ठेकेदार कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढाइएको छ । कार्यपालिका बैठकबाटै निर्णय गरेर इटहरी उपमहानगरपालिकाले ठेकेदार तथा निर्माण कम्पनीलाई कारबाहीको प्रक्रिया थालेको हो । उनीहरुलाई १५ दिने स्पष्टीकरण सोधिएको छ । उपमहानगरले एकैपटक ८ वटा कम्पनीलाई स्पष्टीकरण सोधेको छ । गत बुधबार १५ दिने सूचना जारी गर्दै लिखित स्पष्टीकरण सोधिएको उपमहानगरले जनाएको छ । ठेक्का सम्झौता गरेर काम अधुरै छाडिएका र म्याद समाप्त भएका ठेकेदार कम्पनीहरूलाई ठेक्का सम्झौता अद्यावधिक गरेर निर्माण कार्य सुचारु गर्न गत भदौ १ गते नै सूचना जारी गरिएको थियो । तर, त्यसलाई बेवास्ता गर्दै ठेकेदार कम्पनी सम्पर्कमा आएनन् । न त अलपत्र पारिएका आयोजनाको काम नै सुरु भयो । निर्माण सुचारु नगरिकन हालसम्म सम्पर्कविहीन भएका ८ वटा कम्पनीलाई स्पष्टीकरण सोधिएको हो ।
उपमहानगरका अनुसार निर्माण कम्पनीहरु आरवन कन्स्ट्रक्सन इटहरी, अंकित कन्स्ट्रक्सन सिराहा, एमके कन्स्ट्रक्सन सिराहा, भैरव–नारायण जेभी नेपालगन्ज, गिरी कन्स्ट्रक्सन प्रा.लि हात्तीवन, अनु निर्माण सेवा भोजपुर, प्रेरा–गिरी जेभी हात्तीवन ललितपुर र प्रतिष्ठा गिरी जेभीलाई स्पष्टीकरण सोधिएको छ ।इटहरी उपमहानगरसँग विभिन्न १४ वटा पूर्वाधार निर्माणको सम्झौता गरेर ८ वटै ठेकेदार कम्पनी सम्पर्कविहीन बनेका छन् । सबै आयोजनाको काम अस्तव्यस्त र अधुरै छाडिएको छ । ठेकेदार कम्पनीले सडक निर्माण, सार्वजनिक स्मार्ट शौचालय, विभिन्न भवन र इटहरीका विभिन्न खोला तथा पैनीहरूमा पुलहरू निर्माण कार्य अलपत्र पारेका छन् । उनीहरुलाई कालो सूचीमा राख्ने तयारी छ । इटहरी उपमहानगरपालिकासँग खरिद सम्झौता गरेर त्यसलाई पूर्णरूपमा पालना नगरेका निर्माण व्यवसायी तथा कम्पनीहरूलाई कालो सूचीमा राख्दै थप कारबाही अघि बढाउन सिफारिस गरिने जनाइएको छ ।
प्रतिक्रिया