विराटनगरबाट खैरो हेरोइनको कारोबारमा संलग्न दुई जना महिला पक्राउ

मंगलबार, १६ माघ २०८०
विराटनगर । लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)को ओसारपसार र कारोबारमा संलग्न दुई जना महिलालाई प्रहरीले मङ्गलवार दिउँसो विराटनगरबाट पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दहालका अनुसार विराटनगर महानगरपालिका–१७ की १९ वर्षीया अनिता बैठा र ३० वर्षीया सरस्वती गुरुङलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमध्ये विराटनगर–१७ घर भएकी गुरुङ विराटनगर–१६ बर्मा टोलस्थित कार्तिक पण्डितको घरमा कोठा भाडामा लिएर बस्दै आएको खुलेको छ । डिएसपी दाहालका अनुसार भारतको जोगवनीबाट खैरो हेरोइन खरिद गरेर आउँदै गर्दा बैठा र गुरुङलाई विराटनगर–१५ बैङ्क रोड चोकबाट पक्राउ गरिएको हो । जोगवनीबाट पैदल नै नेपाल छिरेका उनीहरूलाई इलाका प्रहरी कार्यालय रानीका सई प्रहरी नायव निरीक्षक उज्ज्वल खड्गी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरका वरिष्ठ सई (वरिष्ठ प्रहरी नायव निरीक्षक) दीपक यादव नेतृत्वको संयुक्त टोलीले दिउँसो २ बजेतिर पक्राउ गरेको हो । शंका लागेपछि प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा बैठाको साथबाट लागूऔषध खैरो हेरोइन १९.३३ ग्राम फेला परेको दाहालको भनाइ छ । लगत्तै प्रहरीले गुरुङको कोठामा छापा हानेको थियो । कोठामा प्रहरीले खानतलासी गर्दा सानो डिजिटल तराजु फेला परेको थियो । प्रहरीका अनुसार जोगवनीबाट खरिद गरी खैरो हेरोइन कोठामा ल्याएर राख्ने र डिजिटल तराजुमा जोख्दै नेपालका विभिन्न स्थानमा ‘सप्लाई’ गरेको खुलेको छ । इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएका बैठा र गुरुङविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । यस सम्बन्धमा रानीका इन्स्पेक्टर सन्दीप बेलबासे नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार दुवै जना खैरो हेरोइनको ओसारपसार र कारोबारमा विगतदेखि नै संलग्न रहेको पाइएको छ । बैठा र गुरुङले भाडाको कोठाबाट खैरो हेरोइन अन्यत्र ‘सप्लाई’ गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार