प्रेम प्रसाद आत्मदाहको एक बर्ष पुरा : माग अलपत्र, वेपत्ता भयो प्रतिवेदन

विहीबार, १८ माघ २०८०
इलाम :  इलामका युवा प्रेमप्रसाद आचार्यले संसद् भवन अगाडी आत्मा दाह गरेको एक वर्ष पुरा भएको छ । तर आचार्यसँगै जोडिएर आएका माग अलपत्र भएका छन् । उद्योग, व्यवसायको दिगोपना र व्यवसायीक वातावरण निर्माणका लागि पच्चिस बुँदे माग सहितको ‘मृत्यु पत्र’ सामाजिक सञ्जाल फेसबुकमा राखेर सङ्घीय संसद् भवन अघि गएको माघ ११ गते आत्मदाह गरेका युवा उद्यमी आचार्यले उठाएका मागहरू पुरा गर्न न सरकारले चासो देखायो नत उनको आत्मदाह पछि बनेको छानबिन समितिको प्रतिवेदन नै सरकारले सार्वजनिक गर्‍यो । आचार्यकी श्रीमती नानुका अधिकारी सरकारले परिवारलाई समेत छानबिन समितिको प्रतिवेदन उपलब्ध नगराएको बताउँछिन् । अधिकारीले संवेदनशील जस्तो देखिएको र चर्चामा रहेको घटना सरकाले एक वर्षमा एउटा माग पनि सम्बोधन नगरको बताउँछिन् । सरकारले उनको मागलाई वास्तै नगरेको उनको आरोप छ । प्रेमप्रसादले उठाएका माग सम्बोधन गर्न सरकारलाई घचघच्याउन सरोकारवाला सबैलाई उनको आग्रह समेत छ । आफूहरूले सरकारलाई माग पत्र बुझाएको सो समयमा नै सरकारले २१ दिनको समय मागेको थियो । तर, एक वर्षमा केही पनि उपलब्धि हासिल नभएको उनको भनाई छ । उनले आचार्यको निधन पछि परिवार चलाउन समेत समस्या परिरहेको बताइन् । वर्तमान सरकारका स्वास्थ्य मन्त्री मोहन बस्नेतले दुवै छोरीको पढाइको व्यवस्था गर्ने अधिकारीलाई जागिर दिने घोषणा गरेर चर्चा बटुलेका थिए । तर सो काममा उनले कुनै चासो नदेखाएको परिवारको भनाई छ । अधिकारी अरनिको यातायात प्रालीमा काम गर्छिन् तर अहिले सम्म पारिश्रमिक नतोकेको उनको गुनासो छ । राष्ट्रिय कृषक समूह महासङ्घका संस्थापक अध्यक्ष तथा खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले राज्यलाई किसान र व्यवसायीको कुरा सुनाउन प्राण आहुति नै दिनु पर्ने र त्यति हुँदा पनि कुरा सुन्ने अवस्था नरहनु दुर्भाग्य रहेको बताए । दुई दशक देखि कृषकको पक्षमा आवाज उठाई रहेका अभियन्ता अधिकारीले नेपालमा कृषि, उद्योग, पर्यटन र युवाहरूको सम्भावना देखाए पनि सकारको चासो भने शून्य भएको बताए । उनले स्वर्गीय आचार्यले उठाएका सवालमा लामो बहस हुनु जरुरी रहेका बताए । अधिकारीले राज्यका अनेक अनियमितता र भ्रष्टाचारलाई पनि उजागर गरेका आचार्यका माग सम्बोधन गर्न सरकार लाग्नु पर्ने बताए । इलामको सूर्योदय नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले स्वर्गीय राईका माग एक वर्षमा पनि सरकारले नसुन्नु दुर्भाग्य पूर्ण भएको बताए । उनी पनि आचार्यले उठाएका सवाल उद्यमी, व्यवसायीका आम सवालहरू भएको बताउँदै राज्यले तत्काल सम्बोधनका लागि काम गर्नु पर्नेमा जोड दिन्छन् । आचार्यले राष्ट्रिय उत्पादनमा भ्याट शून्य गर्नुपर्ने, अनुदान प्रणाली सहज गर्नु पर्ने लगायतका २५ बुँदे माग अघि सार्दै आत्मा दाह गरेका थिए । सो घटना पछि धेरै माथिल्लो पदमा नै रहेका व्यक्तिले चासो देखाए । घटना लगत्तै चर्चामा आएको सो विषय हाल सेलाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार