विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पछिल्लो समय मोटरसाइकल चोरी हुने क्रम बढेको छ । चोरीमा गिरोह नै सक्रिय रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
भारतीय नागरिकले गिरोह नै बनाएर मोटरसाइकल चोरीमा परिचालन गरेको पत्ता लागेको हो । विराटनगर महानगरपालिकाका विभिन्न स्थानमा भइरहेको शृङ्खलाबद्ध मोटरसाइकल चोरीमा संलग्न एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
भारतको अररियास्थित फारवेशगन्जका ३५ वर्षीय सिकन्दर मण्डललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए । सङ्गठित रूपमा गिरोह परिचालन गरेर नेपालको सीमा क्षेत्रबाट मोटरसाइकल चोरी गर्ने धन्दामा उनी संलग्न रहेको दाहालको भनाइ छ । मण्डल गिरोहका नाइके रहेको उनले बताए ।
उनीसँगै मोटरसाइकल चोरीमा संलग्न अन्य भने पक्राउ परेका छैनन् । प्रहरीले विभिन्न सूचना र अनुसन्धानबाट खुलेको विवरणलाई आधार चोरीमा संलग्न अन्य व्यक्तिहरूको खोजी तीव्र पारेको छ ।
विराटनगरमा केही समयदेखि शृङ्खलाबद्ध रूपमा मोटरसाइकल चोरी हुन थालेपछि नियन्त्रणमा लिन र त्यसमा संलग्नलाई पक्राउ गर्न मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली खटाएका थिए । टोलीले मोटरसाइकल चोरी गर्दाको समयको सिसी क्यामेरा फुटेज सङ्कलन गरेर अनुसन्धान सुरु गरेको थियो ।
फुटेजका आधारमा भारतीय नागरिक मण्डललाई पक्राउ गर्न प्रहरी सफल भएको हो । उनी विरुद्ध चोरी मुद्दा चलाउने प्रहरीको तयारी छ । बिहीबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको एसपी पोखरेलले बताए ।
मण्डल र उनको समूहले चोरी गरिसकेपछि मोटरसाइकलको नम्बर प्लेट फालेर भारततर्फ लैजाने गरेको पाइएको जानकारी पोखरेलले दिए ।
उनका अनुसार चोरेर भारततर्फ लैजान लागिएको ३ वटा मोटरसाइकलसमेत विराटनगर महानगरपालिका–१४ बाट बरामद भएको छ । ‘चोरी गर्नसाथ नम्बर प्लेट फालेर भारततिर मोटरसाइकल कटाउने गरेको पाइयो,’ एसपी पोखरेलले भने ।
उनका अनुसार मण्डलले अन्य ३ वटा मोटरसाइकल चोरी गर्दै गरेको दृश्य सिसी क्यामेरामा कैद भएको छ । तर, ती मोटरसाइकल प्रहरीले बरामद गरिसकेको छैन ।
बरामद नभएका ३ वटै मोटरसाइकलका धनी भने प्रहरीको सम्पर्कमा पुगेका छन् । पीडितसँगको समन्वयमा मण्डलविरुद्ध कारबाही गर्न प्रहरीले अनुसन्धानको प्रक्रिया अघि बढाएको छ ।
प्रतिक्रिया