६३ मेट्रिक टन सुन्तला कुहिएपछि करिब ८० लाख रुपियाँबराबरको नोक्सानी भएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ । केन्द्रका कार्यालय प्रमुख बद्धिराज घिमिरेले भने, “भण्डारणमा दुई-तीन वर्षपहिले देखिको ढुसीले गर्दा अहिले समस्या भएको देखिन्छ । भण्डारण चेम्बर (कक्ष)मा आवश्यक औषधीको प्रयोग र प्राविधिक प्रक्रिया नपुगेको देखिन्छ ।”पञ्जा प्रयोग नगरी शीत भएको समयमा सुन्तला टिपिएको, भण्डारण गर्दा घरलाई निर्मलीकरण सोडियम हाइपोक्लोराइडको मात्रा कम राखेको र अघिल्ला वर्षहरूको ढुसीका जीवाणु नष्ट नभएकाले अहिले ढुसी लागेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । साथै सुन्तलालाई पटक–पटक हातले छुँदा ढुसीले बढी आक्रमण गरेको, भण्डारण घरको तापक्रम र आद्रता पनि नमिलेको घिमिरेले बताए । पोखराथोकका कृषक चिरञ्जीवी पौडेलले भने, “ढुसी लागेर सुन्तला नोक्सान भयो । यस्तो पहिला भएको थिएन । हामीले सबै विधि पुर्याएर राखेको हो । अहिले प्राविधिक त्रुटि भयो भन्छन । आर्थिक रूपमा ८० लाख रुपियाँ जाति नोक्सान भएको छ ।” घिमिरेका अनुसार ‘रफ हेन्डलिङ र ट्रिटमेन्ट नमिलेका’ कारण हरियो र निलो ढुसीले सुन्तला कुहिएको हो । कृषक मानबहादुर श्रेष्ठ, रेवतीराज पौडेल र खगेन्द्र पौडेलले ९० टन सुन्तला भण्डारण गरेका थिए । नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ विज्ञ उमेश आचार्य, कृषि विकास निर्देशनालय बुटबलका बाली संरक्षण अधिकृत मिलन गैरे, कृषि विकास निर्देशनालय बुटवलका बागवानी अधिकृत सुनयना बरालीलगायतले अध्ययन गरेको थियो ।
प्रतिक्रिया