चिकित्सकको लापरबाहीले संखुवासभामा सुत्केरीको पेटभित्र कपडा

विहीबार, २५ माघ २०८०
संखुवासभा । जिल्ला अस्पताल संखुवासभाको लापरबाहीले एक सुत्केरीको पेटभित्र गज (कपडा) भेटिएको छ । गत १३ माघमा जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया गरिएकी पाँचपखपन नगरपालिका–६ की सुत्केरी ३१ वर्षीया तारा भण्डारीको पेटभित्र गज भेटिएको हो । सुत्केरी भएको एक सातापछि उनको पेटभित्र एक पिस गज भेटिएको हो । शल्यक्रिया गरेर बच्चा जन्मेको चार–पाँच दिनपछि भण्डारीलाई औषधि दिएर अस्पतालले डिस्चार्ज गरेको थियो । तर, घर फर्केको दुई दिनमै सुत्केरी भण्डारीलाई पेट पोल्ने, ढाडिने समस्या भएपछि प्राथमिक स्वास्थ्य केन्द्र वाना भर्ना गरिएको थियो । भण्डारीको पेटबाट गज निकाएपछि उनी पुनः २० माघमा जिल्ला अस्पताल भर्ना भएकी छन् । चिकित्सकले शल्यक्रिया गर्दा पेटभित्रै कपडा छोडर सिलाई गरिदिएको पीडित भण्डारीले बताइन् । चिकित्सकको लापरबाहीले पुनः अस्पताल भर्ना हुँदासमेत आफैंले खर्च बेहोर्नुपरेको उनले गुनासो गरिन् । सुत्केरी भण्डारीको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार