पाथीभरा केबलकार निर्माणको कामलाई अघि बढाइने

मंगलबार, ०१ फागुन २०८०
ताप्लेजुङ / केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत पक्ष छलफल छोडेर हिँडेपछि ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको पाथीभरा केबलकारको कामलाई अघि बढाइने निर्णय भएको छ । जिल्ला समन्वय समिति ताप्लेजुङको समन्वयमा सोमबार बसेको सर्वपक्षीय बैठकले केबलकार निर्माणको कामलाई अघि बढाउने निर्णय गरेको हो । पाथीभरा केबलकार निर्माणको काम अघि बढाउने निर्णय भने एकपक्षीय भएको छ । केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत रहेका पक्षसमेत सहभागी भए पनि निष्कर्षमा नपुगी बैठक छोडेर हिँडेपछि एकपक्षीय निर्णय भएको हो । परियोजनाको विरोध गर्दै आएका पक्षका प्रतिनिधिले केबलकार निर्माण गर्न नहुने कुरा दोहोर्याउँदै बैठक छोडेर निस्केका थिए । केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत पक्षसँग वार्ता गर्न बनेको वार्ता समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति प्रमुख लामाले उनीहरूको अवरोध रहे पनि कामलाई अघि बढाउने निर्णय भएको बताए । उनका अनुसार सङ्घर्षरत पक्ष बैठक छोडेर निस्केपनि उनीहरुसँग वार्ता र संवादलाई निरन्तरता दिँदै निर्माणको कामलाई अघि बढाउने निर्णय भएको हो । सङ्घर्षरत पक्षका नेतृत्वसँग सहमतिको विन्दु खोजेर समस्या समाधान गर्नुपर्छ भनेर आफूले निरन्तर समन्वय गरिरहे पनि समाधानका विषयमा उनीहरूले तत्परता नदेखाएको प्रमुख लामाले बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहेका चन्द्रप्रसाद ढकालको नेतृत्वमा पाथीभरा मुक्कुमलुङ दर्शन केबलकार प्रालिले परियोजना निर्माण गर्न लागेको हो । कार्यान्वयनको चरण सुरु गर्ने गरी केबलकार निर्माणका लागि सम्पूर्ण प्रक्रिया पूरा भइसकेको प्रालिले जनाएको छ । तर सङ्घर्षरत पक्षले सो स्थानमा केबलकार सञ्चालन गर्न नहुने अडान राख्दै आएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार