भोजपुरबाट हत्याका अभियुक्तहरू २१ वर्षपछि पक्राउ

मंगलबार, ०८ फागुन २०८०
भोजपुर । भोजपुरको टेम्केमैयुङमा २१ वर्षअघि एक जना व्यक्तिको हत्या भएको घटनामा संलग्न अभियुक्तहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । प्रहरीले सोमबार राति २ जना अभियुक्तलाई पक्राउ गरेको हो । टेम्केमैयुङ गाउँपालिका–४ ९साबिकको नागी गाविस–१०० का ५४ वर्षीय प्रश्नजंग राई र ५८ वर्षीय सौरज भनिने सौराज राईलाई पक्राउ गरिएको भोजपुर प्रहरी प्रमुख डिएसपी सुदीराज पाठकले जानकारी दिए । विशेष सूचनाका आधारमा अभियुक्तलाई पक्राउ गर्न डिएसपी पाठकले विशेष टोली परिचालन गरेका थिए । प्रहरी टोलीले प्रश्नजंगलाई भोजपुर नगरपालिका–७ र सौराजलाई टेम्केमैयुङ–४ बाट पक्राउ गरेको हो । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । प्रहरीका अनुसार २०५९ माघ २४ गते राति भोजपुरको टेम्केमैयुङ–४ का भीमबहादुर राईको घरमा बस्दै आएका ४० वर्षीय भक्तबहादुर राईको हत्या गरेपछि प्रश्नजंग र सौराजलगायतका अभियुक्तहरू फरार बनेका थिए । पुरानो रिसईबीलाई लिएर काठको चिर्पट र घरेलु हतियार प्रहार गरेर भक्तबहादुरको हत्या गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्नहरू हालसम्म पक्राउ परेका थिएनन् । भागिरहेका उनीहरूलाई लामो समयपछि पक्राउ गर्न प्रहरी सफल भएको छ । डिएसपी पाठकले अपराधका पुराना फायल खोलेर अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्ने कामलाई प्राथमिकतामा राखेका छन् । पुराना घटनाको अनुसन्धान गर्दै जाँदा घटना भएको २१ वर्षपछि हत्यामा संलग्नहरू पक्राउ परेको जानकारी पाठकले दिए । उनका अनुसार भक्तबहादुरको हत्यापछि घटनामा संलग्नहरू वारदात स्थलबाट फरार भएका थिए । हालसम्म पक्राउ नपरेकाले उनीहरूलाई प्रहरीले कारबाहीको दायरामा ल्याउन सकेको थिएन । दुवै जना अभियुक्तविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध मङ्गलवार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डिएसपी पाठकको भनाइ छ । उनका अनुसार घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता रहेको पाइएको छ । फरार रहेका बाँकी अभियुक्तलाई पक्राउ गर्न विशेष टोली परिचालन गरेर खोजी तीव्र पारिएको जानकारी पाठकले दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार