मोरङको सुन्दरहरैँचामा दुर्घटना, मोटरसाइकलमा सवार पुरुषको मृत्यु

मंगलबार, ०८ फागुन २०८०
विराटनगर । मोरङको सुन्दरहरैँचामा मङ्गलवार दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जना पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्व–पश्चिम लोक मार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–४ मा पहिचान नखुलेको सवारीसाधनले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । तत्काल नम्बर प्लेट नखुलेको सवारीसाधनले मोरङको बेलबारीबाट सुनसरीको इटहरीतर्फ जाँदै गरेको को २० प २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलको पछाडि सवार सुन्दरहरैँचा–७ का ४५ वर्षीय खुलानाथ दाहालको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका दाहालको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा दिउँसो ४ः४० बजेतिर मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा–१० का ४० वर्षीय सुन्दर बुढाथोकी घाइते भएका छन् । टाउको, खुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेका बुढाथोकीको नोबेलमै उपचार भइरहेको छ । दुर्घटना लगत्तै फरार बनेका कारण ठक्कर दिने सवारीसाधनको पहिचान हुन नसकेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । उक्त सवारीसाधनको पहिचान र खोजीका लागि विशेष टोली परिचालन गरिएको छ । केही शङ्कास्पद सवारीसाधन निगरानीमा रहेको र थप विषयमा प्रस्ट हुन यातायातलाई लेखेर पठाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार