म्याग्दी - म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र हुक्कालाई प्रतिबन्ध (निषेध) गरिएको छ । सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूमपान गर्ने वस्तु हुक्का (तमाखु)ले जनस्वास्थ्यमा गम्भीर असर पार्ने र युवायुवतीलाई कुलतमा लगाउने गरेको निष्कर्ष निकाल्दै नगरपालिकाले बुधबारदेखि हुक्का सेवन र बेचबिखनमा प्रतिबन्ध लगाएको हो ।
गत माघ २५ गतेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार हुक्कालाई पूर्णरुपमा बिक्री वितरण र सेवनमा निषेध गरिएको नगर प्रमुख सुरत केसीले जानकारी दिए ।
पछिल्लो समय बजार क्षेत्रमा युवायुवती हुक्का सेवनका कुलतमा फस्दै गएका थिए । युवायुवतीलाई कुलतमा लैजान हुक्काले प्रत्यक्ष प्रभाव पारेपछि नगरपालिकाले नीतिगत निर्णय गरी आवश्यक छलफल र तयारीका साथ हुक्का सेवन र बिक्री वितरणमा निषेध गरिएको उनले बताए।
नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर हुक्का सेवन एवं बिक्री वितरणमा रोक लगाएको जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को नगरपालिकाको काम, कर्तव्य र अधिकारमध्ये दफा ११ को उपदफा २ खण्ड ९ञ० बमोजिम आधारभूत स्वास्थ्य र सरसफाइ अन्तर्गत रही स्थानीय वातावरणमा र मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले हुक्कालाई पूर्णरुपमा निषेध गर्ने निर्णय गरिएको नगरपालिकाले जारी सूचनामा उल्लेख छ ।
प्रतिक्रिया