अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो - मलेसियाबाट स्वर्ण र रजत लिएर फर्किन् सजिना

बुधबार, २३ फागुन २०८०
विराटनगर । आईटीएफ तेक्वान्दोकी नेपाली खेलाडी सजिना तामाङले मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा स्वर्ण र रजत पदक जितेकी छन् । नेपालकी महिला खेलाडीले दुई वटा अन्तर्राष्ट्रिय पदक जित्दै मुलुकको नाम विश्वसामु राख्न सफल भएकी हुन् । सजिनाको उत्कृष्ट प्रदर्शनले नेपालको शिर उच्च बनाएको छ । उनले गर्व गर्न लायक प्रदर्शन गरेकी थिइन् । उनी मलेसियाबाट स्वर्ण र रजत पदक बोकेर नेपाल फर्किएकी छन् । मलेसियामा फागुन १७ देखि २० गतेसम्म ‘हवारङ वाररिअर आईटीएफ तेक्वान्दो वर्ल्ड च्याम्पियनसिप’ भएको थियो । त्यही प्रतियोगिताबाट दुई वटा अन्तर्राष्ट्रिय पदक ल्याउन सजिना सफल भइन् । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्कीका अनुसार भोजपुरको षडानन्द नगरपालिका–४ घर भएकी १६ वर्षीया सजिनाले एकल स्पाई रिङतर्फ ४३–५३ तौल समूहबाट स्वर्ण र एकल प्याटन निलो पेटी समूहबाट रजत जितेकी हुन् । सजिनाले पछिल्लो समय आईटीएफमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छन् । विगतमा पनि उनले विभिन्न पदकहरू जितेको कार्कीले बताए । उनका अनुसार भोजपुरको दुर्गम गाउँमा जन्मिएकी खेलाडीले अन्तर्राष्ट्रिय पदक जित्नु मुलुकका लागि ठुलो उपलब्धि हो । ‘दुर्गमकी चेलीले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट स्वर्ण र रजत पदक जित्नु नै ठुलो कुरा हो । विश्वसामु नेपाललाई चिनाउनु गर्वको विषय हो,’ कार्कीले भन्छन्, ‘ठुलो सफलता र गौरवको विषय सम्झिएर राष्ट्रले सम्मान गर्नुपर्छ । खेल क्षेत्र र खेलाडीको विकासमा राज्यले ध्यान दिनुपर्छ ।’ उनले विश्वसामु मुलुकको नाम राख्न सफल भएकी सजिनालाई सङ्घीय र प्रदेश सरकारले सम्मान गर्नुपर्नेमा जोड दिए । सरकारले सम्मान र सहयोग गरे मात्रै मनोबल उच्च भएर आगामी दिनमा पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सक्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय पदक बोकेर फर्किएकी सजिनालाई बुधवार विराटनगर विमानस्थलमा कोशी प्रदेश आईटीएफ तेक्वान्दो सङ्घले सम्मान गरेको छ । प्रदेश सङ्घका तर्फबाट कोषाध्यक्ष ओमकुमार श्रेष्ठलगायतले उनलाई विमानस्थलमा सम्मान गरेका हुन् । ‘हवारङ वाररिअर आईटीएफ तेक्वान्दो वर्ल्ड च्याम्पियनसिप’मा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै सजिनासहित ४ जना खेलाडी र १ जना अम्पायर गरेर ५ जनाको टोली गत फागुन १६ गते मलेसिया गएको थियो । पुरुषतर्फ वीरेन्द्र कुँवर दुई वटा विधामा २ कांस्य पदक जितेर नेपाल फर्किएका छन् । देवेन्द्र सुनार र कैलाश अर्याल पदकविहीन बने । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका कोषाध्यक्ष विक्रम बाठा मगर नेपालको तर्फबाट अम्पायरको भूमिका निर्वाह गर्दै खेलाडीको टोलीसँग मलेसिया गएका थिए । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका अनुसार उक्त प्रतियोगितामा विश्वभरिका ३१ मुलुकका २ हजार ४ सयभन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले यसअघि सजिनालाई बिदाइ गर्ने क्रममा पदक लिएर नेपाल फर्किएमा नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरिसकेका छन् । बोर्डले खेल र खेलाडीको प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेताहरूलाई सम्मान गर्ने प्रचलन बसाएको उनको भनाइ थियो । ‘सम्मान र प्रोत्साहनले खेलाडीको मनोबल उच्च हुन्छ,’ वाग्ले भन्छन्, ‘खेलाडीहरू स्वदेश वा विदेशमा हुने प्रतियोगितामा भाग लिनलाई आफ्नो खर्च गरेर जानुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यक छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार