डेढ वर्षभित्र पुल बनाउने ठेक्का-२४ लाख ७५ हजार पेस्की बुझेर ठेकेदार एक वर्षदेखि लापत्ता

सोमबार, २८ फागुन २०८०
बाजुरा- ठेक्का सम्झौताअनुसार बाजुराको मार्तडी कोल्टी सडकको बडिमालिका नगरपालिका– ८ बाउली खोलामा गत वर्ष नै पुल निर्माण भइसक्नुपथ्र्यो । डेढ वर्षमा पुल निर्माण गर्ने सम्झौता भए पनि साढे दुई वर्षसम्म एउटा खाडल खन्नेबाहेक काम भएको छैन । पिलर उठाउन बनाइएको फाउन्डेसन (खाल्डो) नै पुरिन थालेको छ । जब कि पेस्कीबापत २४ लाख ७५ हजार लगिसकेको ठेकेदार कम्पनी जुगल– कौसिक जेभी एक वर्षदेखि लापत्ता छ । सडक डिभिजन कार्यालय साफेँले पाँच करोड ५८ लाख लागतमा १५ फागुन ०७९ भित्र २५ मिटर लामो मोटरेबल पुल निर्माण सक्न उक्त कम्पनीसँग १५ कात्तिक ०७८ मै सम्झौता गरेको थियो । कम्पनीको तर्फबाट सञ्चालक नरेश ओझाले सम्झौता गरेका थिए । सडक डिभिजन साफँेका निमित्त प्रमुख आशा श्रेष्ठका अनुसार सुरुमा कम्पनीको आग्रहमा १२ असार ०८० सम्मका लागि म्याद थप गरिएको थियो । तर, त्यसपछि भने ठेकेदार कम्पनी नै सम्पर्कमा आएको छैन । प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीलाई सम्पर्कमा ल्याइने बताए । पुल निर्माण नहुँदा सदरमुकाम मार्तडीमा रहेको मालिका मावि र बाजुरा क्यापसमा अध्यनरत विद्याथीलाई आउजाउ गर्न समस्या हुने गरेको छ । आजको नयापत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार