विरगञ्ज- सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहनाबाहेक विवाहमा दुलाहा वा दुलही पक्षबाट कुनै पनि चलअचल सम्पत्ति, दाइजो माग गर्न र लेनदेनको सर्त राखी विवाह गर्न दण्डनीय छ । दाइजो मागेमा वा लेनदेनको सर्त राखेमा तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान मुलुकी अपराध (संहिता), २०७४ को दफा १७४ को उपदफा २ (१) मा उल्लेख छ ।
तर, करार कर्मचारीसमेत रहेका बाराको कलैया उपमहानगरपालिका– ४ सिनेमाचोकका उमेश साह गोढले सुनको सिक्री नदिएको भन्दै वरमाला भइसकेको विवाह मण्डपबाटै रद्द घोषणा गरिदिए । पर्सा वीरगन्जकी ती युवतीसँग विवाहका लागि उनले त्यसअघि नै १५ लाख २५ हजार नगद ९१२ लाख नगद र मोटरसाइकलबापत तीन लाख २५ हजार, एक–एक थान ल्यापटप, सुनको औँठी र हनुमानको माला बुझिसकेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस नोटमा पनि बेहुला पक्षले दाइजोस्वरूप सुनका गहना, नगद, मोटरसाइकल, ल्यापटप र लुगा विवाहअघि नै लगेको उल्लेख छ । तर, विवाहमा ‘पैरक्षण’ विधि भइरहेका वेला दुलही पक्षले दुलाहालाई सुनको एक थान मात्र ढोलना नामक गहना दिए । सुनको सिक्री नदिएको भन्दै बेहुला पक्षले विवाह अगाडि बढ्न नसक्ने बतायो । ‘बेहुला र बेहुलीको सहमतिअनुसार नै पहिलो चरणको वरमाला भएको हो ।
वरमाला विधि भइसकेपछि बेहुलाले सुनको सिक्री नदिएको भन्दै विवाह गर्न इन्कार गरेपछि विवाद भएको थियो, सिन्दुर दान मात्र बाँकी थियो, विवाह नै टुट्यो,’ बेहुलीका बुबाले बताए ।दुवै पक्ष भनाभनपछि हात हालाहालसम्म पुगेको थियो । त्यसपछि बेहुला ‘अब विवाह गर्दैन’ भन्दै जन्ती लिएर फर्किन लाग्दा प्रहरीले उनीसहित पाँचजनालाई पक्राउ गरेको छ । बेहुला साह वीरगन्ज महानगरको स्वास्थ्य शाखामा कम्प्युटर अप्रेटरका रूपमा कार्यरत छन् ।
पक्राउ पर्नेमा बेहुलासहित उनका बुबा बच्चालाल साह गोढ, दाइद्वय राकेश र मुकेश तथा भिनाजु रामएकबाल साह रहेको पर्साका प्रहरी प्रवक्ता कुमारविक्रम थापाले बताए । ‘दाइजोसम्बन्धी कसुरअनुसार मुद्दा चलाउन अदालतबाट दुई दिनको म्याद थप भएको छ,’ थापाले भने, ‘अनुसन्धानपश्चात् मुद्दा चल्छ ।’
उमेशले विवाहअघि बुझेका थिए–
१५ लाख २५ हजार नगद
१२ लाख नगद र मोटरसाइकलबापत ३ लाख २५ हजार०
एक थान ल्यापटप
एक थान सुनको औँठी
एक थान हनुमानको माला
आजको नयापत्रिका दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया