अव मिटर रिडर नचाहिने, सर्भरबाटै लाइन काट्न सकिने

बुधबार, ०७ चैत्र २०८०
इलाम/  नेपाल विद्युत् प्राधिकरणले देशभर ग्राहकहरूलाई ‘स्मार्ट मिटर’ जडान गर्ने कार्य अनुरूप इलाम जिल्लामा पनि सुरुवात भएको छ । प्राधिकरणको इलाम वितरण केन्द्रका अनुसार मङ्गलवार देखी इलाममा ‘स्मार्ट मिटर’ जडान सुरु गरिएको हो । सुरुमा ठुला ग्राहकहरू (दुई सय केभीए सम्मका र थ्री फेज लाइन जडान गरेका) ग्राहकहरूलाई असार सम्ममा पुरानो मिटर परिवर्तन गरी ‘स्मार्ट मिटर’ जडान गरिने भएको छ । इलाम वितरण केन्द्रका केन्द्र प्रमुख विजली प्रसाद यादवले घरेलु (सिङ्गल फेज) का ग्राहकहरूलाई साउनदेखि मिटर उपलब्ध गराई जडान गरिने जानकारी दिए । उनले यस्तो मिटर विद्युत् जडान भइसकेका घरमा वा कल कारखानामा निःशुल्क जडान गरिने जानकारी दिए । तर जडान गरेपछि पुन मिटर बिग्रिएमा वा नयाँ विद्युत् लाइन जडान गर्दा भने ‘स्मार्ट मिटर’ लाई पनि शुल्क लाग्ने बताए । इलामका थ्री फेज लाइन जडान भएका तीन सय १४ ग्राहक र टी ओ डी (टाइम अफ गडे) ९८ ग्राहक रहेकोमा मङ्गलवार २५ वटा मिटर परिवर्तन गरी स्मार्ट मिटर जडान गरिएको छ । देशभर स्मार्ट मिटर जडान गर्ने जिम्मा स्मार्टेन कम्पनीले पाएको र कोसी प्रदेशमा सरोज घिमिरे र भोजराज अधिकारीले जडान कार्यको ठेक्का पाएको बताइएको छ । घिमिरेले “नीङ्बो” कम्पनीबाट उत्पादित ‘स्मार्ट मिटर’ जडान गरिएको जानकारी दिए । पुरानो मिटर हटाएर नयाँ ‘‘स्मार्ट मिटर’ परिवर्तन गरेपछि विद्युत् चुहावट रोकथाम गर्न धेरै सजिलो हुने केन्द्र प्रमुख यादवले बताए ।“ स्मार्ट मिटर लगाएपछि मिटर रिडिङ गर्न घर घरमा पुग्न पर्दैन । ‘‘यस्तो मिटर जडान गरेपछि अटोमेटिक लाइन काट्न समेत सकिन्छ ” यादवले भने । यस्तो मिटर अनलाइन सिस्टमबाटै चल्ने हुँदा चार पटक रिडिङ गरेर सर्भरमा डाटा पठाउँछ । मिटर मा भएको सबै डाटा अफिसमा बसेर हेर्न पनि मिल्छ । घरको वायरिङमा समस्या भएमा ‘स्मार्ट मिटर’ मा नै अटो कट हुने सिस्टम भएकाले घरमा विद्युत् सर्ट हुने जोखिम पनि कम हुने बताइएको छ । वायरिङमा समस्या भएमा ‘स्मार्ट मिटर’ मा साइरन बज्ने र सर्ट भएमा भाइब्रेसन द्वारा सङ्केत दिएर १५ मिनेट पछि आफै लाइन काटिने सिस्टम यसमा हुने यादव बताउँछन् । तीन पटक सम्म विद्युत् ट्रिप भएमा अटो लक हुने र लक खोल्न चाहिँ काठमाडौँ पुर्‍याएर मात्र खोल्न सकिने बताइएको छ । ग्राहकको घरमा भएको क्षमता अनुरूप जडान गरेपछि क्षमता भन्दा बढी विद्युत् चलाएमा यो मिटरले कन्ट्रोल गर्ने हुँदा विद्युत् चोरी नियन्त्रण पनि हुने बताइएको छ । यस्तो स्मार्ट प्रविधिले भविष्यमा विद्युत् उपभोग पनि टेलिफोन जस्तो प्रिपेड सिस्टममा लान प्रभावकारी देखिएको छ । पुरानो मिटर परिवर्तन गरी ‘स्मार्ट मिटर’ जडान गर्दा प्राविधिकहरू (ठेकेदारका प्रतिनिधिहरू) घर घरमा आएर निःशुल्क जडान गर्ने हुँदा कुनै किसिमको अतिरिक्त शुल्क नदिन इलाम वितरण केन्द्रले ग्राहकहरूलाई अनुरोध गरेको छ । स्मार्ट मिटर जडान गर्दा अतिरिक्त शुल्क लिएको पाइएमा केन्द्रमा जानकारी गराउन समेत भनिएको छ । इलाम वितरण केन्द्र अन्तर्गत पाँच सय ७३ ट्रान्सफर्मर मार्फत ५२ हजार तीन सय ग्राहकहरूलाई विद्युत् वितरण गरिएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार