इलाम / नेपाली समाज र हिन्दु परम्परा अनुसार बुबा आमाको मृत्यु पछि छोराले नै चितामा दागबत्ती दिने एवम् काजक्रिया गर्ने चलन छ । छोरा नहुँदा आफन्त पुरुष नै खोजेर काजक्रिया गर्ने प्रचलन चल्दै आएको थियो ।
तर इलाम सूर्योदय नगरपालिकामा छोरीहरुले नै बुबाको काजक्रिया गर्दै आएका छन् ।
सूर्योदय नगरपालिका–१२ मा भने समाजको पुरानो मान्यता तोड्दै बुबाको काजक्रिया गरिरहेका छन् ।
स्थानीय पुनम अधिकारी कार्की, कल्पना अधिकारी कार्की, सुनी अधिकारी मगर र हेमकुमारी अधिकारीले दिवङ्गत बुबा भविन्द्र अधिकारीको काजक्रिया गरिरहेका छन् ।
भविन्द्रको गत फागुन ३० मा निधन भएपछि पत्नी अननकुमारी र छोरीले किरिया गरिरहेका हुन् । परम्परागत सोच त्यागेर छोरीको जिम्मेवारी पूरा गर्न काजक्रिया बसेको क्रियापुत्री पुनमले बताइन् ।
अधिकारीको काजक्रिया गराइरहेका पुरोहित सोमनाथ घिमिरेले छोरीले आफ्ना बुबा–आमाको काजक्रिया गर्न नहुने भन्ने कतै उल्लेख नभएको बताए ।
पछिल्लो समय यसरी बुबा आमाको मृत्यु भएमा छोरीले नै काजक्रिया गर्ने प्रचलन समेत बढ्दै गएको छ ।
प्रतिक्रिया