रंगेलीमा डुम्रीको रुखमुनि लुकाइएको ९ सय २१ किलो गाँजा बरामद

विहीबार, २५ मंसिर २०८२
फाईल तस्बिर

विराटनगर । मोरङको रंगेली नगरपालिका–८ बाट प्रहरीले बुधबार राति ठूलो परिमाणको गाँजा बरामद गरेको छ । खेतको बीचभागमा परालले छोपेर लुकाइराखिएको अवस्थामा फेला परेको गाँजा तौला गर्दा ९ सय २१ किलो ६६ ग्राम भएको छ । 

इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले विशेष सूचनाका आधारमा राति ९ बजे ‘सर्च अपरेशन’ सञ्चालन गरेको थियो । रंगेलीस्थित विद्युत कार्यालयदेखि करिब २ सय मिटर पश्चिमतर्फ पर्ने सुरेशमान श्रेष्ठको खेतको बीचमा रहेको डुम्रीको रुखमुनि २९ वटा बोरामा प्याक गरी परालले छोपेर राखिएको अवस्थामा गाँजा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले बताए । 

गाँजा राखिएको छ भन्ने गोप्य सूचनाले प्रहरी टोलीलाई खेततिर डोर्याएको थियो । पराल हटाउनेबित्तिकै गाँजाका बोराहरू देखिएका थिए । बरामद गाँजा इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर घटनाको थप अनुसन्धान अघि बढाइएको डीएसपी चौधरीले बताए । 

गाँजा कसले ल्याएर खेतमा लुकाएको हो भन्ने तत्काल यकिन हुन नसकेको र अनुसन्धानको दायरा विस्तार गरिएको उनको भनाइ छ । धनकुटालगायत पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजालाई भारत पुर्‍याउने उद्देश्यले खेतमा अस्थायी हिसाबले भण्डारण गरिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

गाँजाको कारोबार र ओसारपसारमा संलग्न सम्भावित व्यक्तिहरूको पहिचान तथा खोजी तीव्र पारिएको छ । डीएसपी चौधरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको जनाए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार