इलाम २ उपनिर्वाचन : उम्मेदवार छान्न दललाई सकस

शनिबार, १० चैत्र २०८०
इलाम / आउँदो वैशाख १५ गते हुन लागिरहेको इलाम क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि चुनावी चहलपहल बढेको छ । उपनिर्वाचनमा उम्मेदवार बन्नेको लर्को लागेको छ । उम्मेदवार टुङ्गो लागेका स्वतन्त्रहरू जनताको घर पुग्न थालेका छन् भने उम्मेदवार टुङ्गिन बाँकी राजनीतिक दलका नेताहरूसमेत निर्वाचन क्षेत्र केन्द्रित हुन थालेका छन् । स्वतन्त्र उम्मेदवारहरू औपचारिक चुनावी अभियान सुरुआत गरी जनताको घर–घर पुग्न थालेका हुन् । दलका नेताहरू भने टिकट प्राप्त गर्नका लागि लबिङ गरिरहेका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम, मिलन लिम्बू र अर्जुनविक्रम शाहीले यसअघि काठमाडौँमा पत्रकार सम्मेलन गरी स्वतन्त्र उम्मेदवार घोषणा गर्दै चुनावी अभियानमा होमिएका छन् । पहिचानको प्रमुख मुद्दा बोकेर निर्वाचनमा होमिएका थेगिम प्रदेश नामाङ्कनको विषयलाई लिएर कोसीमा आन्दोलनरत ‘प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’को तर्फबाट साझा उम्मेदवार खडा भएका छन् । उनलाई पहिचान पक्षधर पार्टीहरू राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नागरिक उन्मुक्ति पार्टी, जातीय संस्थाहरू किरात याकथुङ चुम्लुङ, किरात राई यायोक्खालगायत किरात धर्मगुरु आत्मानन्द लिङदेनको समर्थन छ । त्यस्तै युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने मुख्य मुद्दासहित पत्रकार लिम्बू चुनावी मैदानमा होमिएका छन् । उता युवाकै मुद्दा लिएर इलाम आएका पाहुना उम्मेदवार अर्जुनविक्रम शाहीसमेत भेटघाटमा व्यस्त छन् । यस्तै ‘किरात लिम्बुवान प्रदेश नामाङ्कन अभियान’का केन्द्रीय अध्यक्ष प्रेम दीप लिम्बू स्वतन्त्र उम्मेदवारी घोषणा गरी चुनावी अभियान थालेका छन् । शुक्रवार इलाम सदरमुकाममा पत्रकार सम्मेलन गरी अभियानका अध्यक्ष लिम्बूले पहिचानवादी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । उनले पहिचानको आन्दोलनलाई सार्थक रूप दिन तथा कोसी प्रदेशको नाम परिवर्तन गरी ‘किरात लिम्बुवान’ बनाउन केन्द्रीय तहदेखि नै पहल गर्न उम्मेदवारी रहेको बताए । उनले इलाम–२ को विकास निर्माणलाई गति दिनसमेत आफ्नो उम्मेदवारी रहेको बताए । उता जिल्लाका कुनै पनि राजनीतिक दलहरूले अहिलेसम्म उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् । उम्मेदवार चयनमा सर्वसम्मत हुन नसकेपछि नेपाली काँग्रेसले सात, नेकपा (एमालेले) छ र जनता समाजवादी पार्टीले तीन जना आकाङ्क्षीको नाम केन्द्रीय समितिमा सिफारिस गरी पठाएका छन् । सिफारिसमा परेका सबै नेताहरू आफूले टिकट पाउने विश्वस्त हुँदै निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् । काँग्रेसले महासमिति सदस्य भेषराज आचार्य, पूर्व राज्यमन्त्री केशव थापा, जिल्ला सभापति डम्बरबहादुर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल, नेता रमेश लिङ्देन, पूर्व जिल्ला उपसभापति शान्तिकला तामाङ (राई) र महासमिति सदस्य चन्द्रमाया लिम्बूको नाम केन्द्रमा सिफारिस गरी पठाएको छ । तर केन्द्रले नाम टुङ्गो लगाउन बाँकी रहेको सभापति खड्काले जानकारी दिए । खड्का गत वर्षको निर्वाचनमा एमाले नेता एवं संविधानसभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङसँग एक सय १४ मतले मात्र पराजित भएका थिए । एमालेले पनि स्वर्गीय नेम्वाङपुत्र सुहाङ नेम्वाङसहित छ जनाको नाम यसअघि नै केन्द्रीय समितिमा पठाइसकेको छ । तर, उम्मेदवार टुङ्गो लगाउन सकेको छैन । एमालेले नेम्वाङसहित उपसचिव रवीन्द्र सुवेदी, जिल्ला सदस्य डा देवी क्षेत्री दुलाल, इलाम–२ क्षेत्रीय अध्यक्ष बुद्धिप्रसाद खनाल, नेता नरेन्द्रनाथ भट्टराई र पार्टी कोसी प्रदेश सदस्य रिपल राईको नाम सिफारिस गरी पठाइएको जिल्ला सचिव उमेश गुरुङले जानकारी दिए । जनता समाजवादी पार्टीले केन्द्रीय सल्लाहकार डा महेन्द्र लावती, केन्द्रीय सदस्य लोक सागर साम्बा र जिल्ला उपाध्यक्ष यामप्रसाद लिम्बूको नाम पठाए पनि टुङ्गो लाग्न सकेको छैन । राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी चयनका लागि प्रारम्भिक निर्वाचन गरी उम्मेदवार छनोट गर्ने कार्यपालिका सार्वजनिक गरेको छ । रास्वपाले उपनिर्वाचनमा उम्मेदवार बन्न प्रारम्भिक निर्वाचनका लागि १४ गते दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता, साँझ ८ बजेसम्म प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन, १५ गते दिउँसो १ बजेसम्म प्रारम्भिक उम्मेदवारउपर दाबी विरोध, साँझ ५ बजेसम्म उम्मेदवारहरूसँग छलफल, साँझ ८ बजे अन्तिम उम्मेदवार नामावली प्रकाशन, १६ गते साँझ ७ बजेसम्म मतदान र निर्णय गरी १७ गते दिउँसो १ बजे नतिजा प्रकाशन गरी उम्मेदवार सार्वजनिक गर्नेछ । रास्वपाको उम्मेदवार सार्वजनिक गर्न गृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने इलाम आउने कार्यक्रम रहेको रास्वपा इलामले जनाएको छ । उता नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य साना दलहरूले उम्मेदवार सिफारिस नै गरेका छैनन् । एकीकृत समाजवादीका तर्फबाट सम्मानित नेता झलनाथ खनालले इलाम–२ मा उम्मेदवार बन्ने चर्चा रहे पनि आधिकारिक निर्णय नभएको समाजवादी इलाम अध्यक्ष भक्त केसीले बताए । इलाम–२ मा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । विसं २०७९ को निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि आयोगले चैत २४ गते उम्मेदवारी दर्ताको मिति तोकेको छ । उपनिर्वाचनका लागि इलाममा २० वटा राजनीतिक दलले दल दर्ता गराएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार