टीका खतिवडाइलाम चैत्र : इलामको रोङ गाउँपालिकामा ‘गुरु किसान’ कार्यक्रम सुरु भएको छ । दक्षताका आधारमा अग्रज किसान छनौट गर्ने र अन्य किसानलाई प्राविधिक सहयोग पुर्याउन गुरु किसान कार्यक्रम सुरु भएको हो ।
यो सङ्घीय सरकारकै कार्यक्रम अनुसार स्थानीय तहले सो कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष मनीकुमार स्याङ्बो सुवासले बताए । अन्य स्थानीय तहमा यो कार्यक्रम लागु नभइसकेको अवस्थामा यस गाउँपालिकामा देशमा नै पहिलो पटक यो कार्यक्रमको सुरुवात भएको उनको भनाई छ ।
गुणस्तरीय उत्पादन हुन नसक्दा नेपालमा उत्पादित कृषिजन्य वस्तु विदेश निर्यातमा समस्या भइरहेको भन्दै किसानलाई समेत गुणस्तरीय उत्पादनमा जोड दिन पनि यो कार्यक्रम सुरु भएको बताइएको छ ।
कृषि पेसाबाट नाफा बडी नभएका कारण पनि किसान पलायन हुँदै गएको भन्दै यो कार्यक्रम ल्याइएको गाउँपालिकाले बताएको छ ।
बजारको समस्या किसानको उत्पादन सँग जोडिएको हुनाले पनि यसका लागि किसानले गुणस्तरीय उत्पादनमा लाग्नु पर्ने गाउँपालिका अध्यक्ष स्याङ्बाले बताए ।
उनले परिमाण, गुणस्तर र निरन्तरतामा निर्भर रहिरहने समेत बताए । परिमाण, गुणस्तर र निरन्तरता लाई विशेष प्राथमिकतामा राखेर काम गर्ने किसान तयार गर्दै किसान सङ्ख्या थप गर्दै किसानलाई बजारको सुनिश्चितता गर्ने प्रयासको सुरुवात भएको उनको भनाई छ ।
कृषि पेसालाई व्यावसायिक रूपमा अघि बढाउन नेपालले उत्पादकत्व वृद्धिको अभियानमा जोड दिन जरुरी रहेको उनको भनाई छ । यो कार्यक्रम स्थानीय तहले मात्र गरेर सम्भव नहुने भन्दै प्रदेश र सङ्घीय सरकारसँगको समन्वयमा सञ्चालन हुन आवश्यक रहेको बताइएको छ ।
उत्पादकत्व वृद्धि गर्न गुरु किसान मार्फत प्रोत्साहन लाई व्यवस्थित गर्न गुरु किसान मार्फत काम गर्ने गाउँपालिकाको लक्ष्य रहेको भन्दै कार्यविधि जारी भइसकेको छ ।
गुणस्तरीय उत्पादन निरन्तर भएमा माग बढ्ने र बजारको समस्या नहुने भन्दै सो का लागि गुरु किसान छनौट र परिचालन गर्न लागिएको गाउँपालिकाले जानकारी दिएको छ ।
ज्ञान सीप र दक्षताका आधारमा अग्रणी किसान छनौट गर्ने र व्यवहारिक एवम् अघोषित प्राविधिक रूपमा किसान समक्ष परिचालन गरिने गाउँपालिका अध्यक्ष स्याङ्बोले जानकारी दिए ।
उनका अनुसार सबै ठाउँमा दक्ष प्राविधिक खटाउन नसक्दा कृषि पेसा अङ्गालेका धेरै किसानहरूले प्राविधिक ज्ञान पाउन नसेको र कृषि पेसाबाट पलायन भइरहेको भन्दै यस्तो कार्यक्रम ल्याएको जानकारी दिए ।
यो किसान लक्षित कार्यक्रम भएकाले सबै किसानलाई समेट्न सकिने बताइएको छ । ‘कृषि पेसालाई सम्मानित पेसा बनाउन गुणस्तरीय उत्पादनमा उहाँहरूले पनि जोड दिनु पर्छ ।’ गाउँपालिका अध्यक्ष स्याङ्बोले भने ।
उत्पादकत्व वृद्धि भएपछि मात्र किसान समृद्ध हुने र सिङ्गो गाउँपालिका समेत सम्पन्न हुने उनको भनाई छ ।
गाउँपालिकाले गुरु किसानलाई आर्थिक एवम् प्राविधिक सहयोग गर्ने जनाइएको छ ।
गुरु किसान घोषणा गरेर अन्य किसानमाझ खटाउँदा कृषि पेसामा रहेका किसानहरूलाई समेत आत्मसम्मान सहित कृषिलाई निरन्तरता दिन हौसला प्राप्त हुने छ ।
साथै अन्य किसानसमक्ष ज्ञान बाँड्न खटाउँदा कृषि पेसामा लाग्दै गरेका नयाँ किसानहरूलाई समेत हौसला प्राप्त हुने अपेक्षा लिइएको छ ।
कृषिमा आत्मनिर्भर हुँदै व्यावसायिक कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको सो गाउँपालिकाले कृषि पेसालाई सम्मानित पेसा बनाउन समेत यो कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष स्याङ्बोको भनाई छ ।
यो कार्यक्रम पछि नेपालमा नै केही गर्न चाहने युवालाई समेत आत्मा निर्भरको बाटो खुल्ने छ । साथै वैदेशिक रोजगारीमा जानै पर्छ भन्ने मान्यता समेत तोडिने बताइएको छ । कार्यक्रम लागु भएपछि युवा शक्ति समेत यहीँ थामिने लक्ष लिइएको छ ।
गाउँपालिकाले यस सम्बन्धी कार्यविधि नै जारी गरिसकेको छ । कार्यविधि अनुसार सम्बन्धित किसान सोही गाउँपालिकाको हुनु पर्ने छ । साथै नेपालको संविधान २०७२ को अनुसूची ८ को बुँदा नम्बर १५ साथै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिछेद ९ ३ को उपदफा ९ण० सम्बन्धित रहेर गुरु किसान कार्यविधि २०८० जारी गरिएको हो ।
किसानले व्यवहारिक ज्ञान पाउने भएपछि सिजन अनुसारका कृषि उपज समेत उत्पादनमा सहज हुने अपेक्षा लिइएको छ । समय र वातावरण सुहाउँदो बाली लगाउन र सिजन अनुसारकै उत्पादन एवम् बेमौसमी खेतीतर्फ समेत किसानको आकर्षण रहने बताइएको छ ।
कृषि पेसालाई आधुनिकीकरण गराउँदै निर्वाहमुखी र व्यावसायिक कृषि उत्पादनमा जोड दिन समेत यो कार्यक्रमले मद्दत पुर्याउने अपेक्षा लिइएको बताइएको छ ।
कार्यविधि अनुसार कृषिलाई मुख्य पेसा बनाई ५० प्रतिशत शारीरिक एवम् मानसिक रूपमा समय दिन सक्ने किसानलाई यस कार्यक्रममा सहभागी गराइने छ ।
यस कार्यक्रम सुरु भइसकेको जनाइएको छ । अब गाउँपालिका स्तरीय छनौट एवम् सिफारिस समिति गठन गरिने छ । सो समितिले यस कार्यक्रममा सहभागी बन्न चाहने किसान समक्ष सहभागीताका लागि आह्वान गर्ने बताइएको छ ।
पशुपालन र कृषि पेशामा रहेर काम गरिरहेका अग्रणी किसान छनौट गर्ने र अन्य किसान समक्ष उनीहरूको दक्षता बाँड्न यो कार्यक्रम लागु गरिएको बताइएको छ ।
कृषि पेसामा लागेका गाउँपालिकाका बासिन्दाहरूलाई तालिम, गोष्ठी, व्यवसाय परामर्श, व्यावसायिक योजना, आधुनिक औजार खरिदमा समेत यो कार्यक्रमले मद्दत गर्ने छ ।
नयाँ र कृषि पेसामा लाग्दै गरेका गाउँपालिकाका बासिन्दालाई पुन काम, लगनशीलता एवम् दक्षताका आधारमा गुरु किसान घोषणा गरिने र अन्य किसान समक्ष परिचालन गरिने बताइएको छ ।
कृषिजन्य तथा पशुजन्य वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि हुने र गाउँपालिकाका बासिन्दाको आम्दानी वृद्धि हुने बताइएको छ ।
यस बिचमा गुरु किसान र अन्य किसान सम्म तीन तहको सरकार बिचको सञ्जाल वृद्धि गर्ने साथै किसान एवम् सरकार बिचको दुरी घटाउने बताइएको छ ।
यो कार्यक्रम लागु भएपछि सफल र असल अध्यासलाई अन्य किसानसमक्ष पुर्याउन समेत मद्दत पुग्ने अपेक्षा लिइएको छ ।
गुरु किसान छनौट तथा परिचालन निर्देशक समिति गठन गरेर काम अगाडी बढाइएको छ ।
जसमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, आर्थिक विकास समिति संयोजक, कार्यपालिका महिला समितिबाट दुई जना र कृषि विकास शाखा प्रमुख सदस्य सचिव रहेको समिति गठन गरिएको छ ।
सो समितिले किसान तथा गुरु किसानलाई परामर्श सहित काम गर्न निर्देशन दिने छ । समितिले अनुगमन तथा सहयोगका लागि सिफारिस समेत गर्ने बताइएको छ ।
यो गाउँपालिका कृषि उत्पादनका हिसाबले जिल्लाकै अग्रणी पालिका समेत मानिन्छ ।
साथै झापासँग सीमा जोडिएको जिल्ला भएका कारण पनि उत्पादन भएका वस्तु बजारीकरणमा समस्या नहुने गरेको छ ।
यहाँ उत्पादित कृषि वस्तु, झापाका विभिन्न बजार हुँदै इटहरी, विराटनगर, काठमाडौँ लगायतका स्थानमा समेत जाने गरेका छन् ।
कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको यो गाउँपालिकाले गुन्द्रुकको ब्रान्डिङ, रोङ मह, सिस्नोको उत्पादन तथा ब्रान्डिङ लगायतमा सफलता समेत प्राप्त गरिसकेको छ ।
प्रतिक्रिया