जनमत मधेश संसदीय दलका नेतासमेत रहेका महेशप्रसाद यादवले मर्यादा बिर्से, दुई आयोजनाको चिठी आफूले पठाएको व्यक्तिलाई नदिएको भन्दै हाकिममाथि कार्यालयमै गरे दुर्व्यवहार
राजविराज — मधेश प्रदेशसभामा जनमत पार्टीका संसदीय दलका नेता एवं प्रदेशका निवर्तमान शिक्षामन्त्री महेशप्रसाद यादवले आइतबार पूर्वाधार विकास कार्यालय राजविराजका प्रमुख प्रवीणप्रताप अधिकारीलाई दुर्व्यवहार गरेका छन् । दुई वटा आयोजनाको चिठी आफूले पठाएको व्यक्तिलाई नदिएको भन्दै यादवले आफूलाई कार्यालयमै हातपात गरेको अधिकारीले बताए ।
प्रदेश सरकारको रेडबुकमा रहेको १०-१० लाख रुपैयाँको दुई वटा योजनाको चिठी लिन निवर्तमान मन्त्री यादवको निर्देशनमा राजविराज नगरपालिका–१३ का वडा सदस्य चन्द्रिका यादव आइतबार दिउँसो पूर्वाधार विकास कार्यालय आएका थिए ।
कार्यालय प्रमुख अधिकारीले राजविराज–१३ पिपराहीमा सामुदायिक भवन निर्माण र सोही वडाको विषहरियामा एकनाथको घरदेखि महावीर स्कुलसम्म आरसीसी ढलानको दुवै योजना सञ्चालनका लागि कोटेसनको सूचना निकालिसकेको जवाफ वडा सदस्य यादवलाई दिएका थिए ।
त्यसपछि सांसद यादवलाई फोन लगाउँदै वडा सदस्य यादवले अधिकारीलाई कुरा गर्न लगाएका थिए । तर, कुरा गर्ने क्रममा सांसद यादवको आवाज नचिनेको भन्दै फोन फिर्ता लिएको अधिकारीले बताए । ‘त्यसको केहीबेरमै निवर्तमान मन्त्रीज्यू आउनुभो, मैले नमस्ते भनें, उहाँले हातपात गर्न थाल्नुभो,’ उनले भने ।
यादवसँग जनमतबाट निर्वाचित प्रदेश सांसदद्वय सकिल अली, शम्भु साह तथा जनमतकै तर्फबाट निर्वाचित हनुमाननगर कंकालिनी नगरपालिका प्रमुख वीरेन्द्र माझीसमेत कार्यालयमा आएका थिए ।
निवर्तमान मन्त्री यादवले हातपातको कुरा अस्वीकार गरे । उनले प्रदेश सरकारको योजनाको चिठी दलालमार्फत बिक्रीवितरण गर्न थालेपछि आफू आवेशमा आएको बताए ।
‘काम गर्न नसक्ने भए तपाईं यहाँबाट जानुस् भन्दै हल्का ठेलेको मात्रै हो, हातपात गरेको होइन,’ यादवले भने । हातपातपछि कार्यालय प्रमुख अधिकारीले कार्यालयमा काम गर्ने सहज वातावरण नभएको बताए । सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले कर्मचारीमाथि दुर्व्यवहार भएको जानकारी आएको र बुझ्ने काम भइरहेको बताए ।
यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया