वरिष्ठ मुटु रोग विशेषज्ञ डा.प्रशान्त शाहले खान पानमा सतर्कता अपनाउँदै दिनको १ घण्टा हिँड्ने हो भने रक्तचाप लगायत मुटुको रोगबाट बच्न सकिने बताएका छन् ।
परिवर्तनका लागि सामाजिक अभियानद्वारा आयोजित निःशुल्क सामाजिक स्वास्थ्य शिविरमा शाहले सो कुरा बताएका हुन् ।
विगत ३ वर्षदेखि पाक्षिक रूपमा निरन्तर आयोजना हुदै आएको सो स्वास्थ्य शिविरमा ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिने अभियानका अध्यक्ष विष्णु बरालले बताए । शिविरमा विशेष गरी मुटु रोग, रक्तचाप र मधुमेहको बिरामीहरूको उपचार हुने गरेको छ ।
गत शनिवार धरान मोडल कलेजमा सामाजिक स्वास्थ्य क्लिनिकको ५५ औँ संस्करण सम्पन्न भएको छ ।
६५ जना बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको उक्त शिविरमा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्स निशा श्रेष्ठ र उषा चौधरीले रक्तचाप र मधुमेह परीक्षण गरेका थिए ।
सुशील बरालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रम लायन्स क्लबअफ धरान विजयपुर युनाईटेडको सहकार्यमा सम्पन्न भएको थियो ।
मोहन श्रेष्ठ, वर्षा श्रेष्ठ, जेनिश शाक्य, हेम ढकाल लगायतका अभियन्ताहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त शिविरमा औषधि समेत निःशुल्क रूपमा वितरण गरिएको थियो । यस्ता प्रकारको कार्यक्रममा सहकार्य गर्न पाएकोमा लायन्स क्लब अफ विजयपुर युनाईटेडका अध्यक्ष रिता अग्रवालले आयोजक संस्था प्रति आभार प्रकट गरेकी थिइन ।
शिविर धरानका विभिन्न वडाहरू, चतरा, इटहरी, इनरुवा र झापा गाउँपालिकामा समेत सञ्चालन भइसकेको छ ।
प्रतिक्रिया