सांसद चौधरीको पहलमा बर्दघाटमा ट्रमा सेन्टर बन्ने, भवनको डिजाइन स्वीकृत

सोमबार, १९ चैत्र २०८०
बर्दघाट- नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीको पहलमा पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानीमा ट्रमा अस्पताल निर्माण हुने भएको छ । नवलपरासी-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद चौधरीको विशेष पहलमा अस्पताल निर्माण हुने भएको हो । अर्थ मन्त्रालयबाट माघ १७ गते १५ करोड रुपैयाँको बहुवर्षीय ठेक्का तथा श्रोत सुनिश्चितताको स्वीकृति प्राप्त भइसकेको छ । अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएसँगै सघन सहरी तथा भवन निर्माण योजना, चितवनले तयार पारेको डिजाइन तथा लागत अनुमान सहरी विकास तथा भवन निर्माण विभागबाट आइतबार स्वीकृत भएको हो । अब अस्पताल निर्माण कार्यको सुनिश्चित भएको हो । निर्वाचनका बेला चिसापानी अस्पतालको सेवा विस्तारसँगै विशिष्टिकृत सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने प्रतिबद्धता अनुसार सांसद चौधरीको निरन्तरको पहलपछि भवन निर्माण कार्यले सार्थकता पाएको हो । सांसद विनोद चौधरीको निरन्तरको ताकेता पछि बजेट सुनिश्चिततादेखि सहरी विकास मन्त्रालयबाट डिजाइन स्वीकृतसम्मको कार्य भएको छ, मन्त्रालयका अधिकारीले भने, अब एक दुई दिनभित्रै टेन्डर को सूचना प्रकाशित हुनेछ । आव २०८२-०८३ सम्ममा निर्माण कार्य सम्पन्न हुने सो अस्पताल सघन सहरी तथा भवन निर्माण आयोजना, चितवनले निर्माण कार्य अगाडि बढाउने सरकारले जनाएको छ । चिसापानी अस्पतालमा ट्रमा अस्पतालको निर्माण कुनै पनि हालतमा हुन नदिन विभिन्न पक्षहरूबाट थुप्रै अवरोधहरू भए पनि माननीय विनोद चौधरी तथा वहाँको सचिवालयबाट निरन्तर प्रयासको फलस्वरूप यो स्वीकृतिको सफलता प्राप्त भएको छ, स्थानीयले भने, माननीयज्यूले चुनावको समयमा जनतासँग गर्नुभएको वाचा मध्येको यो ट्रमा अस्पताल निर्माण पनि एक हो । वहाँले यसलाई गौरव आयोजनाको रूपमा राख्नुभएको छ । प्रतिनिधिसभामा निर्वाचित भएपछि सांसद चौधरीले नवलपरासीको विकासका लागि आफूलाई केन्द्रित गर्दै आएका छन् । उनले निर्वाचनका बेला गरेका प्रतिबद्धता कार्यान्वयनका लागि व्यवस्थित विकासको अवधारणा अनुसार काम गर्दै आएका छन् । ट्रमा अस्पताल सञ्चालनपश्चात् पूर्वपश्चिम राजमार्गको नवलपरासी-बुटवल खण्डमा हुने सवारी दुर्घटना तथा स्थानीय तहमा हुने दुर्घटना लगायत सबै प्रकारका बिरामीहरूले सहज उपचार पाउने छन् । चिसापानी अस्पतालमा ट्रमासहितको सुविधा सम्पन्न एकीकृत अस्पताल सञ्चालन गर्ने सांसद चौधरीको योजना छ । उनले चिसापानी अस्पताललाई यो क्षेत्रकै उत्कृष्ट सेवा प्रदान गर्ने अस्पतालका रूपमा अगाडि बढाउनेमा जोड दिँदै आएका छन् । चौधरी फाउन्डेसनको सहयोगमा अस्पताललाई विशिष्टिकृत सेवा दिने अस्पतालका रूपमा काम भइरहेको छ । फाउन्डेसनकै सहयोगमा अस्पतालमा सिजी सबल केन्द्र (कृत्रिम हातखुट्टा सेवा परियोजना) सञ्चालनमा छ । यो सेवा नागरिकले निःशुल्क प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार