‘हामीकहाँ कस्तो हुन्छ भने उजुरी लिएर आउनेलाई आफ्नो मान्छेको मृत्युको पीडा हुन्छ । यस्तोमा ठोस प्रमाण नभए पनि किटानी जाहेरी दिन्छन् र मुद्दा अदालतसम्म पुग्छ,’ रेग्मीले भने, ‘विद्यालयमा आत्महत्या गरे शिक्षक-प्रधानाध्यापक, होस्टेलमा गरे वार्डेन, अफिसमा गरे हाकिम, घरमा गरे सासू–श्रीमान्लाई प्रतिवादी बनाएको पाइन्छ । सुसाइड नोटमै नाम मात्र राखेर आरोप लगाइदिएकै भरमा अदालतले त्यसलाई प्रमाण मान्दैन ।’ छिमेकी भारतकै अभ्यास हेर्ने हो भने पनि दुरुत्साहन दिएको बलियो आधारविना कसुर पुष्टि नहुने रेग्मीको भनाइ छ ।अदालतहरूले वादी पक्षबाट पेस बयानका मात्र आधारमा कसुर स्थापित गर्दैनन् । मृतकलाई आत्महत्या गर्न मौखिक आदेश दिने वा आत्महत्या गर्न सहयोग वा षड्यन्त्र देखिए, प्रत्यक्ष–अप्रत्यक्ष मानसिक वा शारीरिक पीडा दिई आत्महत्याबाहेक विकल्प नछाडेको अवस्था देखिएमा मात्र प्रमाणका रूपमा ग्रहण गर्ने गरेको देखिएको छ । अर्घाखाँचीकै फैसलामा हेर्ने हो भने पनि आत्महत्या मानसिक समस्या, विभिन्न किसिमका यातना, लामो समयदेखिको शारीरिक वा मानसिक पीडा वा बिमारी, आर्थिक समस्या, एक्लोपना, असफलता, लागुऔषधको लत, गर्भावस्था वा सोपश्चात् हुने डिप्रेसन, जबर्जस्ती विवाह वा अन्य ट्रमाजस्ता कमजोर मनस्थितिको उपजबाट हुने भन्दै दुवै प्रतिवादीलाई सफाइ दिएको थियो । जिल्ला अदालत मोरङले पनि मुखियालाई सफाइ दिने आधार अपर्याप्त प्रमाणलाई नै लिएको देखिन्छ ।
न्यायाधीश शिशिरराज ढकालको इजलासबाट भएको फैसलामा भनिएको छ, ‘... प्रतिवादीले गरेको कुनै कार्यले मृतकलाई प्राण त्याग गर्नुबाहेक अन्य विकल्प नरहने अवस्था सिर्जना गरी मृतकलाई आत्महत्या गर्ने परिस्थिति सिर्जना गरेको देखिनुपर्छ । ..... प्रस्तुत मुद्दामा प्रतिवादीले मृतकलाई आत्महत्या गर्नका लागि सल्लाह दिएको वा सो कार्य गर्न मृतकको मनोबल बढाउने कार्य गरेको अवस्था देखिँदैन । -----निजले (प्रतिवादीले) मृतकसँग मादक पदार्थ सेवन गरी झगडा कुटपिट गरेको भन्नेसम्म देखिन्छ । मादक पदार्थ सेवन गरी झगडा कुटपिट गरेको कुरालाई आत्महत्या दुरुत्साहन गरेको भन्न मिल्दैन ।’ठोस प्रमाण नहुँदा र कतिपय अवस्थामा कागज र बयानसमेत नहुँदा प्रायः आत्महत्या दुरुत्साहनको मुद्दामा प्रतिवादीले सफाइ पाउने गरेका छन् । एक कानुन व्यवसायी भन्छन्, ‘आत्महत्या पछाडिको कारण कोही हुनु र आत्महत्याको दुरुत्साहन गर्नु फरक कुरा हुन् । हाम्रोमा कारण कोही देखियो कि उसैलाई प्रतिवादी बनाइदिन्छन् । कतिपय अवस्थामा यो कानुनी व्यवस्थाको दुरुपयोग भइरहेजस्तो पनि देखिन्छ ।’ केही अपराधमा भने अदालतमा ठोस प्रमाणका कारण पुष्टि पनि भएका छन् । सुसाइड नोट वा रेकर्डिङलाई अदालतले प्रमाणका रूपमा लिए पनि ती मृत्युकालीन घोषणा हो वा होइन भन्ने कुरा स्पष्ट हुनुपर्छ । कसैलाई फसाउने नियतले नभई वास्तवमै आत्महत्याका लागि कसैले दुरुत्साहन गरेकोमा मात्र अभियोग पुष्टि हुन्छ । गत २६ माघमा कैलाली जिल्ला अदालतले दार्चुलाकी राजेश्वरी डडालको आत्महत्या दुरुत्साहनमा जगदीशसिंह कोट्टारीलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको थियो । डडालले ६ भदौमा आत्महत्या गरेकी थिइन् । जसपछि मुद्दा चलेकोमा न्यायाधीश प्रदीपकुमार उपाध्यायको इजलासले कसुर ठहरको फैसला गरेको थियो । यसको पूर्णपाठ तयार भइसकेको छैन । आत्महत्या दुरुत्साहन कसुरका मुद्दाको अवस्था कुन अदालतमा कस्तो ? पाँच वर्षमा सर्वोच्च अदालतमा यस्ता दुई मुद्दा पुगेका छन् । त्यसमध्ये ०७७-७८ मा दर्ता मुद्दा सोही वर्ष ठहर भइसकेको छ भने ०७९-८० को मुद्दा विचाराधीन छ । सुसाइड नोटमै नाम मात्र राखेर आरोप लगाइदिएकै भरमा अदालतले त्यसलाई प्रमाण मान्दैन सञ्जीवराज रेग्मी नायब महान्यायाधिवक्ता दाइजोको निहुँमा मानसिकरशारीरिक यातना दिई मर्न बाध्य बनाउने, बुहारी वा श्रीमतीलाई घरमा यातना दिनेजस्ता घटना बढिरहेका बखत त्यसलाई रोक्न कानुनमा दुरुत्साहनसम्बन्धी व्यवस्था गरिएको हो । हामीकहाँ कस्तो हुन्छ भने उजुरी लिएर आउनेलाई आफ्नो मान्छेको मृत्युको पीडा हुन्छ । यस्तोमा ठोस प्रमाण नभए पनि किटानी जाहेरी दिन्छन् र मुद्दा अदालतसम्म पुग्छ । विद्यालयमा आत्महत्या गरे शिक्षकरप्रधानाध्यापक, होस्टेलमा गरे वार्डेन, अफिसमा गरे हाकिम, घरमा गरे सासू–श्रीमान्लाई प्रतिवादी बनाएको पाइन्छ । सुसाइड नोटमै नाम मात्र राखेर आरोप लगाइदिएकै भरमा अदालतले त्यसलाई प्रमाण मान्दैन । आजको नयापत्रिका दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया