टीका खतिवडा(इलाम)मङ्गलवारे : नक्कली परीक्षार्थी बनेर परीक्षा लेख्ने गरेको त हामीले सुनेकै छौँ । तर इलामको देउमाईमा नाम परिवर्तन गरेर दुई जना विद्यार्थीले एसइई परीक्षा लेख्दै गरेको पाइएको छ ।
इलाम देउमाई नगरपालिकाको जितपुर माविबाट परीक्षा लेख्दै आएका दुई जना विद्यार्थीले नाम परिवर्तन गरेर परीक्षा लेख्दै आएको शङ्का लागेपछि खोजतलास गर्दा छात्राको नामबाट छात्रले र छात्रको नामबाट छात्राले परीक्षा लेख्दै गरेको पाइएको हो ।
जितपुर मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष गोविन्द बरालले भने ‘छोरा मान्छेको ठाउँमा छोरी मान्छेले र छोरी मान्छेको ठाउँबाट छोरी मान्छेले जाँच लेख्ने गरेको देखेपछि शङ्का लागेर खोजी गरेका हौँ ।’ उनले थपे ।
‘दर्शन फागोको प्रवेश पत्रमा दर्शना फागो बनाइएको छ र दिपा बस्नेतको ठाउँमा दीपन बस्नेत नाम परिवर्तन गरेर परीक्षा लेख्दै गरेको पायौँ, फोटो समेत परिवर्तन गरेको पाइयो ।’ परीक्षा केन्द्रका केन्द्राध्यक्ष बरालका अनुसार दिपा बस्नेतका नामबाट दर्शन फागोले परीक्षा लेखेको र दर्शन फागोका नामबाट दिपा बस्नेतले परीक्षा लेखेको पाइएको छ ।
देउमाई नगरपालिका ७ खान्द्रुङ माध्यमिक विद्यालयबाट परीक्षा लेख्दै गरेका उनीहरूले आफूखुसी फोटो समेत परिवर्तन गरेर जाँच लेख्दै आएको फेला परेको थियो । बुधवार परीक्षा सम्पन्न भएपछि प्रवेश पत्र मागेर सोधिखोजी गर्दा उनीहरूले प्रधानाध्यापकको हस्ताक्षर समेत आफै गरेर परीक्षा दिई रहेको पाइएको छ ।
पासपोर्ट साइजको फोटो समेत परिवर्तन गरेर उनीहरूले परीक्षा दिइरहेको पाइएको केन्द्राध्यक्ष बरालले बताए ।
उनका अनुसार उनीहरू खान्द्रुङ माविका नियमित विद्यार्थी समेत हुन् । एउटै प्रश्न पत्र आउने भए पनि उनीहरूले किन सो कार्य गरे भन्ने खोजी भइरहेको बताइएको छ ।
उनीहरूले नाम परिवर्तन गरेर परीक्षा लेख्दै आएको थाहा पाएपछि शिक्षा विकास तथा समन्वय इकाई इलाममा जानकारी गराइएको थियो । समन्वय इकाईबाट केन्द्राध्यक्षको अधिकार प्रयोग गरेर कारबाहीका लागि अनुमति पाएपछि सोही अनुसार गरिएको केन्द्राध्यक्ष बरालको भनाई छ । उनीहरूले के कारण र किन नाम परिवर्तन गरेर परीक्षा दिए भन्ने खुलेको छैन ।
प्रतिक्रिया