इटहरी । इलाका प्रहरी कार्यालय इटहरीमा आठ महिनाको अवधिमा ४ सय २४ वटा मुद्दा दर्ता भएका छन्। जसमा सबैभन्दा बढी बैङ्किङ कसुरमा आधारित छन् ।
प्राप्त विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ साउन १ गतेदेखि फागुन ३० गते सम्म ४२४ मुद्दा दर्ता भएका हुन्।
आर्थिक वर्ष ०७९/८० मा १२ महिनामा ५ सय ८ वटा मुद्दा दर्ता भएका थिए भने आ ब २०७८।७९ मा ४ सय ६४ वटा मुद्दाहरू दर्ता भएका थिए । सबैभन्दा बढी बैङ्किङ कसुरमा १ सय २३ वटा मुद्दा दर्ता भएका छन्।
इटहरीमा मात्र नभएर देश भरी नै बैङ्किङ कसुरका मुद्दा बढी आउने गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेक बहादुर कार्कीले बताए ।
इटहरीमा बैङ्कहरूको सङ्ख्या बढी भएकाले स्वतः बैङ्किङ कारोबार पनि बढी हुने र कारोबारका क्रममा चेक बाउन्स, चेक अनादर जस्ता कसुर हुने गरेको कार्कीले बताए ।
यसै गरी अभद्र व्यवहारमा ७०, चोरीसम्बन्धी कसुरमा ३५, ठगीमा ५१ , लागु औषधमा २४ , झुड्डीएर मृत्यु भएको २१ वटा मुद्दा दर्ता भएका छन्।
बैङ्क खाता बन्द गरेर चेक दिने, जग्गा कारोबारको क्रममा अर्काको जग्गा देखाएर बैना लिने जस्ता ठगीका मुद्दा बढी आउने गरेको डिएसपी कार्कीले बताए ।
जबरजस्ती करणीमा २१, भवितव्य ज्यानमा २४,सवारी ज्यानमा १५ , कर्तव्य ज्यानमा ४ बाल यौन दुरुपयोग ३, ज्यान मार्ने उद्योगमा ३, सरकारी छाप दस्तखत किर्तेमा ३ , जुवालगायतमा मुद्दा दर्ता भएको जानकारी इलाका प्रहरी कार्यालय इटहरीले दिएको छ ।
यसरी दर्ता भएको ४ सय २४ मध्ये २ सय २ मुद्दा फर्छ्यौट भएको र २ सय २२ वटा मुद्दा फर्छ्योट हुन बाँकी रहेको समेत जानकारी मुद्दा शाखाले दिएको छ ।
उक्त आठ महिनामा २७२ जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा २५० पुरुष र २२ जना महिला रहेका छन् । साथै फरार भएर खोजी सूचिमा १७८ जना रहेको र फरार अभियुक्तहरूलाई खोजी कार्य जारी राखिएको डिएसपी कार्कीले जानकारी दिए ।
प्रतिक्रिया