नौ महिनादेखि धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोतका शिक्षकले तलब पाएनन्

आइतबार, ०९ बैशाख २०८१
मुकेश कुमार यादव सिराहा। सिराहाको धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोत र सशर्त शिक्षण अनुदानका शिक्षकहरूले ९ महिनादेखि तलब पाउन सकेका छैनन्। आन्तरिक स्रोतको कमी र कर्मचारी र जनप्रतिनिधिहरूको आन्तरिक समस्याका कारण करिब २० जना शिक्षकहरूले तलब भत्ता पाउन नसकेका हुन्। नगरपालिका अन्तर्गत निजी स्रोतमा सञ्चालित माध्यमिक विद्यालय र आधारभूत विद्यालयका शिक्षकले करिब एक वर्षदेखि नगरपालिकाले तलब भत्ता नपठाएको प्रधानाध्यापकहरूको गुनासो छ। उनीहरूले करिब एक वर्षबाट सशर्त शिक्षण अनुदान र निजी स्रोतका शिक्षकको तलब नआएको गुनासो गरे। आधारभूत विद्यालय, धनगढी माई १३ कैलाशपुर भर्लेनीका प्रधानाध्यापक अमर कुमार योञ्जनले आफ्ना विद्यालयमा कार्यरत दुई जना शिक्षकको तलब भत्ताबापत रकम एक वर्षदेखि विद्यालयको खातामा नआएको बताए। उनले भने, ‘उहाँहरूको तलब भत्ता एक वर्षदेखि आएको छैन, हामीले विद्यालयको स्रोतबाट थोरै पेस्की दिएका छौँ।’ जनता आधारभूत विद्यालय, धनगढी माई १ बाखेरका प्रधानाध्यापक विनोद कुमार साहले पनि निजी स्रोतका शिक्षकको तलवभत्ता नगरपालिकाले यस आर्थिक वर्षमा एक पटक पनि नपठाएको बताए। उनले भने, ‘सशर्त शिक्षण अनुदान र वडा कार्यालयको अनुदानका दुई जना शिक्षकको तलब पालिकाले निकासा दिएका छैन। हामीले शिक्षकहरूलाई विद्यालयको आन्तरिक कोषबाट तलब दिइरहेका छौँ। पालिकाले पनि अव चाँडै पठाउने भनेको छ।’ ‘सशर्त शिक्षण अनुदान र निजी स्रोतका शिक्षकको तलब भत्ताबापतको रकम लामो समयदेखि गएको छैनस शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरिनारायण सिंहले भने, ‘मैले निजी स्रोत र सशर्त शिक्षण अनुदानमा कार्यरत शिक्षकहरूको तलब भत्ताको सम्पूर्ण कागजात लेखा शाखामा बुझाई सकेको छु, केही दिन अघिसम्म सो रकम गएको छैन भन्ने जानकारी छ। तर, हिजो आज गएको भए मलाई जानकारी भएन, म आज बिदामा छु।’ नगरक्षेत्रभित्र ७ जना कम्पूटर शिक्षकसहित करिब २० जना निजी स्रोतमा कार्यरत शिक्षकलाई पछिल्लो नौ महिनादेखि नगरपालिकाले तलब भत्ता पठाएका छैनन्। लेखा अधिकृत पुरुषोत्तम कुमार प्रसादले आन्तरिक स्रोतबाट तलब व्यवस्थापन गर्नुपर्ने शिक्षकहरूको तलब सुविधा जान सकेको थिएन, भर्खरै बजेट संशोधन गरिएको छ। अव कार्यालय प्रमुख आउने दिनै पाउनु पर्ने सबै विद्यालयमा रकम जान्छ।’ ‘पहिला स्रोत व्यवस्थापन हुन सकिरहेको थिएन, स्रोत व्यवस्थापन भइसकेपछि कार्यालय प्रमुख सरुवा भएर जाने र आउने प्रक्रिया हुन थालेकाले ढिलो भएको हो अव चाँडै जानुपर्ने सबैको सेवा सुविधा जान्छ।’ लेखा अधिकृत प्रसादले भने। अधिकृत प्रसादले भने, ‘अहिले म पनि बिदामा छु, हाकीमसाव पनि बिदामा भएकाले कार्यालय प्रमुख आएकै दिन रकम जान्छ।’ यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृतसँग सम्पर्क गरे पनि उनी बिदामा रहेकाले सम्पर्क हुन सकेन। नगर प्रमुख शिवशङ्कर महतोले ‘मैले जानकारी पाएसम्म सबै शिक्षक कर्मचारीको तलब चैत मसान्त सम्मको गई सकेको हुनुपर्छ। निजी स्रोतकाहरुको पनि दसैँसम्मको तलब खाएको छ। नगएको भए तत्काल पठाउन लाउँछु।’ उनले यो प्रशासनको काम भएकाले पनि आफूलाई सबै जानकारी नहुने बताए । धनगढी माई नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिहरूको लापरबाहीले करारका कर्मचारी तथा स्थानीय सेवाग्राहीहरुलाईपनि सास्ती खेप्नु परेको स्थानीयहरू बताउँछन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार