विराटनगर । नेपालमै अलैँचीको खपत बढाउने उद्देश्यका साथ विशेष अभियान सुरु गरिएको छ ।
मोरङको सुन्दरहरैँचास्थित विराटचोकमा सोमबार अभियानको उद्घाटन गरिएको हो । अलैँचीको खपत तथा उपभोग स्वदेशमै बढाउनुपर्नेमा जोड दिँदै नेपाल सरकार र सहज परियोजनाको सहयोगमा साताव्यापी अभियानको थालनी गरिएको हो ।
अभियानअन्तर्गत पहिलो दिन विराटचोकमा झापा, मोरङ र सुनसरीका होटेलका सेफ ९कुक०हरूलाई अभिमुखीकरण गरिएको छ ।
अभियानको उद्घाटन कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा। लेखराज दाहालले गरेका हुन् ।
नेपाल, भारत र भुटानमा अलैँचीको उत्पादन धेरै हुने गरेको भए पनि यसको प्रयोग तेस्रो मुलुकहरूमा ज्यादा हुने गरेको दाहालले बताए । उनले अलैँचीलाई नेपाली परिकारमा समावेश गर्न सके स्वदेशमै अलैँचीले बजार पाउने धारणा राखे ।
नेपाली परिकारमा अलैँचीको प्रयोग गरी मौलिक स्वादको सृजना गर्न सकिने र यस्ता मौलिक स्वादका परिकारले पर्यटकलाई समेत लोभ्याउने दाहालको भनाइ छ । प्रदेश सरकार मातहतका कार्यालयमार्फत पनि अलैँचीको ‘ब्रान्डिङ’लाई व्यवस्थित बनाएर लगिने उनले बताए ।
सेफहरूलाई चर्चित मास्टर सेफ सन्तोष साहले खानाका परिकारहरूमा कसरी अलैँचीलाई समावेश गर्ने भन्ने बारेमा व्यवहारिक जानकारी दिएका थिए ।
साहले नेपालमा अलैँचीको उपभोग बढाउने उद्देश्यले अभियान सुरु गरिएको जानकारी दिए । उनका अनुसार एक हप्तासम्म होटेल तथा रेस्टुरेन्टहरूमा गएर परिकारमा कसरी अलैँचीलाई प्रयोग गर्न सकिन्छ भन्ने बारेमा सेफहरूलाई व्यवहारिक ज्ञान दिइने छ ।
सहज परियोजनाकी टिम लिडर रिमा श्रेष्ठले नेपालमा विदेशबाट आयातित सुकुमेलको प्रयोग ज्यादा हुने गरेको बताइन् । उनले कोशी प्रदेश अलैँची उत्पादनमा अब्बल रहेकाले यहाँका होटेल तथा रेस्टुरेन्टहरूले आफ्नो मेन्युमा अलैँचीलाई समावेश गरी यसको उपभोग बढाउनुपर्ने सुझाव दिइन् ।
अलैँची व्यवसायी सङ्घका अध्यक्ष निर्मल भट्टराईले विदेशबाट मसलाका रूपमा सुकुमेल आयात हुने गरेको बताउँदै अलैँचीलाई सुकुमेलको रूपमा प्रयोग गर्न सकिने बताए । ‘विदेशबाट सुकुमेल आयात भइरहेको छ ।
नेपालमै उत्पादन हुने अलैँची भने धेरै मात्रामा निर्यात हुन्छ,’ उनले भने, ‘नेपालमै अलैँचीको खपत बढाउनुपर्छ । यसको उपयोगिताका बारेमा सबैलाई जानकारी गराउन अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने छ ।’
अभियानको उद्घाटन कार्यक्रममा सुनसरी, मोरङ र झापाका ११ वटा होटेलका सेफहरूको सहभागिता रहेको थियो । नेपालबाट वार्षिक ८ अर्ब रुपैयाँको अलैँची निर्यात हुने गरेको तथ्याङ्क पनि कार्यक्रममा प्रस्तुत गरियो ।
प्रतिक्रिया