स्थानीय बैजु यादवको घर पनि आगलागीमा पर्यो । दुई दिनअघि मात्रै दुलही भित्र्याएका उनलाई घरसँगै सबै सामान जलेर बज्रपात भएको छ । ‘हिजो मात्र भोज सकेर आज ससुरालीबाट दिएको सामान घरमा राख्दै थिएँ । त्यहीवेला छिमेकीको घरमा आगो लाग्यो भनेर मान्छेहरू चिच्याएको सुनेपछि त्यतै दौडिएँ,’ उनले भने, ‘तर, बताससँगै हुत्तिएको आगोको लप्कामा मेरो घर पनि पर्यो, घरसँगै भएभरको सम्पत्ति सबै खरानी बन्यो ।’दाइजो प्रथाले गाँजेको मधेशमा छोरीको विवाह गर्न सहज छैन । चिम्टी टोलकी ७० वर्षीया अहिल्या देवीले नातिनीको बिहेका लागि वर्षौँदेखि गाँस कटाएर केही पैसा जम्मा गरेकी थिइन्, गरगहना जोडिदिएकी थिइन् । तर, आगलागीमा सबै सखाप भयो । ‘नातिनीको विवाहका लागि एक–एक रुपैयाँ जोडेर राखेकी थिएँ, तर नगद, गरगहाना सबै जलेर सखाप भयो, केही बचेन,’ उनले भनिन्, ‘अब नातिनीको विवाह कसरी हुन्छ, अब कसरी जुटाउन सक्छु र त्यत्रो पैसा रु’ पाँच घण्टापछि आगलागी नियन्त्रणमा, विस्थापित परिवार खेतमा दिउँसो २ बजे लागेको आगो साँझ ७ बजेपछि मात्र नियन्त्रणमा ल्याइएको छ । त्यसका लागि चारवटा दमकल प्रयोग गरिएका थिए । सुरुमा हनुमाननगर कंकालिनी नगरपालिकाको दमकलको प्रयोग भए पनि आगो नियन्त्रणमा नआएपछि शम्भुनाथ नगरपालिका, कञ्चनरूप नगरपालिका र प्रहरीको दमकल पनि झिकाइएको थियो । चार दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीय जुटेर आगो निभाएका थिए । घर जलेपछि विस्थापितको वास नजिकैको खेतमा भएको छ । खुला आकाशमुनि वृद्धवृद्धा, सुत्केरी र बालबच्चाको बिचल्ली छ । तत्कालका लागि खानाको व्यवस्था गरिएको महादेवा गाउँपालिका अध्यक्ष सुनीलकुमार मण्डलले बताए । ‘तीन सयभन्दा धेरै विस्थापित भएका छन् । उनीहरू बस्तीछेवैको खेतमा बसेका छन् । पालिकाले साँझ खानेकुराको व्यवस्था गरेको छ,’ उनले भने, ‘थप व्यवस्थापनबारे भोलि (बुधबार) बिहान मात्रै योजना बनाउनेछौँ ।’ आजको नयापत्रिका दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया