भान्सामा ग्यास लिक भएर फैलिएको आगोले सर्लाहीमा ७२ घर ध्वस्त

शुक्रबार, २१ बैशाख २०८१

      -धादिङमा विद्युत् सर्ट भएर घर जल्यो, दम्पतीको मृत्यु

  • बागलुङको जंगलमा लागेको आगो बस्तीमा छिरेपछि अमलाचौरमा चार घरगोठ जले
  • संखुवासभामा दर्जन वनजंगलमा डढेलो, आगो बस्तीमा फैलने जोखिम
  • वनको डढेलो बस्तीमा पस्दा सल्यानमा आठ घरगोठ जले
श्रवण थापा सर्लाही- सर्लाहीको विष्णु गाउँपालिका– १, बाराउद्योरण गाउँमा स्थानीय शत्रुघन राउतको घरबाट खाना पकाउने ग्यास लिक भएर फैलिएको आगोले ७२ घर जलेका छन् । खाना पकाइरहेका वेला ग्यास लिक भएर कच्ची घरमा सल्किएको आगो एकपछि अर्को घर हुँदै सिंगो गाउँमै फैलिएको हो । वडाध्यक्ष बिकाउ ठाकुरका अनुसार ग्यास लिक भएपछि राउतको भान्साको सिलिन्डरसमेत पड्किएको थियो । त्यहाँबाट उछिट्टिएको आगोको लप्को अन्य घरमा पनि सल्किएको थियो । अरू घरहरूमा पनि लगातार ग्यास सिलिन्डर विस्फोट हुन थालेपछि गाउँका अधिकांश घर आगलागीमा परेका थिए । आगलागीबाट ७२ घर जलेको प्रारम्भिक विवरण संकलन भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । गाउँमा रहेका फुसका, खपडाका र पक्की घर जलेका छन् । घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तनलगायतका सामग्री नष्ट भए पनि क्षति यकिन गर्न बाँकी छ । मानवीय र पशुचौपाया भने क्षति हुनबाट जोगिएको छ । आगलागीपीडितहरू छिमेकीको घर र बाराउद्योरण प्राथमिक विद्यालयमा बसिरहेका छन् । उनीहरूलाई तत्कालका लागि पालिका र स्थानीयको सहयोगमा खाद्यान्नको जोहो गरिएको विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवले बताए । आगलागीपछि आफूहरूको गाँस, वास, कपास सबै खरानी भएको पीडित जितेन्द्र राउतले दुःखेसो पोखे । दिउँसोसम्म गुल्जार बाराउद्योरण गाउँ आगलागीपछि खण्डहर बनेको छ । विष्णु गाउँपालिकामा दमकल छैन । सर्लाहीमै २० पालिकामध्ये हरिवन र मलंगवा नगरपालिकासँग मात्रै दमकल छन् । हरिवनबाट दमकल मगाउँदा चार घण्टा लागेकाले वेलैमा आगो नियन्त्रण गर्न नसकेको वडाध्यक्ष बिकाउ ठाकुरले बताए । ‘हामीसँग दमकल छैन, हरिवनबाट दमकल आउन पनि ढिलो भयो । त्यसैले क्षति बढी भएको हो,’ उनले भने । हरिवनको दमकल बिहीबारै लालबन्दी नगरपालिका– १७, रानीगन्जमा लागेको आगो निभाउन पुग्दा बाराउद्योरणमा पनि आगलागी भएको थियो । मलंगवाको दमकल मर्मतका लागि भरतपुर लगिएको थियो । मलंगवाका प्रशासकीय अधिकृत होमनाथ सुवेदीले दमकल मर्मतमा लगिएकाले पठाउन नसकिएको बताए भने हरिवन नगरपालिकाले अन्यत्र आगो निभाउन खटिएको दमकल झन्डै १७ किलोमिटर दूरीमा पुग्नुपर्ने भएकाले समय लागेको जनाएको छ । दिउँसो १ बजेतिरबाट सुरु भएको आगो निभाउन चार घण्टापछि मात्रै दमकल पुगेको थियो भने त्यसको एक घण्टामा स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले दमकलको सहायतामा आगो नियन्त्रणमा ल्याएका थिए । आगो लागेलगत्तै स्थानीय बासिन्दाले चापाकलको पानीले निभाउने प्रयास गरेका थिए । विद्युत् सर्ट भएर घर जल्यो, दम्पतीको मृत्यु आफ्नै घरमा टाँगिएको बिजुलीको तार सर्ट भएर आगलागी हुँदा धादिङको थाक्रे गाउँपालिका– ५ पुरानडाँडास्थित घट्टेखोलाका ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ७० वर्षीया ठूली लामाको मृत्यु भएको छ । आगलागीको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थल पुग्दा वृद्ध दम्पती जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए । रातको समयमा भएको आगलागीबाट अनुमानित १२ लाखबराबरको क्षति भएको प्रहरीले जनाएको छ । घरमा लामादम्पती मात्र थिए । अमलाचौरमा चार घरगोठ जले जंगलमा लागेको आगो बस्तीमा छिरेपछि बागलुङ नगरपालिका– १२ बलेवा अमलाचौरमा चार घरगोठ जलेर नष्ट भएका छन् । स्थानीय यदुनाथ पाध्या र ददिराम पाध्याको दुई घर र दुई गोठ पूर्ण रूपमा जलेका हुन् । यदुनाथको गोठ जल्दा दुई भैँसी, तीन गाई र पाँच बाख्रा पनि मरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराज कँडेलले जानकारी थिए । यदुनाथका अनुसार ऋण तिर्न ल्याएको दुई लाख, घरमा रहेको एक लाख र झन्डै सात तोला सुनसमेत जलेर नष्ट भएको छ । ददिरामको पनि एक गाई र एक बाख्रा जलेर मरेका छन् । संखुवासभामा दर्जन वनजंगलमा डढेलो, आगो बस्तीमा फैलने जोखिम  संखुवासभाको विभिन्न वनजंगलमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । खाँदबारी नगरपालिका– ४ को फिरफिरे ढाडेभिर सामुदायिक वनमा लागेको डढेलो फैलिएर धेरै वनजंगल सखाप बनाएको छ । बुधबार साँझदेखि खाँदबारी– ४ स्थित अरुणदेखि शीतलपाटी निस्कने ढाडेभिरमा सल्किएको डढेलो दलपाटे, फिरफिरे र घलेगाउँसम्म फैलिएको फिरफिरे ढाडेभिर सामुदायिक वन समूहका अध्यक्ष भोलामान गुरुङले जानकारी दिए । डढेलो धेरै ठूलो क्षेत्रमा फैलिएकाले नियन्त्रणमा लिन नसकिएको उनले बताए । स्थानीय, प्रहरी र सशस्त्रले नियन्त्रण लिन धेरै प्रयास गरे पनि असफल भएको उनको भनाइ छ । वनको डढेलो बस्तीमा पस्दा सल्यानमा आठ घरगोठ जले सल्यानको छत्रेश्वरी गाउँपालिका– ५ लेखपोखरामा सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा आठ घरगोठ जलेर नष्ट भएका छन् । लेखपोखराको दियार गाउँस्थित महेन्द्र बहुमुखी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पुग्दा छत्रेश्वरी गाउँपालिका– ५ दियार गाउँका पाँच घर र तीन गोठ नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । वनमा लागेको डढेलो गाउँसम्म पुग्दा स्थानीयका घरगोठहरू पूर्ण रूपमा जलेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए । उनका अनुसार छत्रेश्वरी– ५ दियार गाउँका थलबहादुर घर्तीको घर, मोहन वलीको दुईवटा कच्ची घर, टोकाराम वलीको कच्ची घर, प्रेम वलीको कच्ची घर तथा सामान नष्ट भएको छ । स्थानीय धनबहादुर घर्ती, शेरबहादुर वली र खुमबहादुर वलीको गोठ पनि पूर्ण रूपमा नष्ट भएको छ । आजको नयापत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार