ताप्लेजुङ / नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले यसै साता सुरु हुने संसद्को बजेट अधिवेशन निर्बाध ढङ्गले अघि बढ्ने विश्वास लिएका छन् ।
उनले संसदीय छानबिन समिति अन्तिम हतियार भएको र सो भन्दा अघि राज्यका निकायमार्फत सहकारी तथा वित्तीय संस्थासँग सम्बन्धित सवालहरूको छानबिन हुनुपर्ने बताए ।
पत्रकार महासङ्घ ताप्लेजुङले शनिवार फुङलिङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममार्फत भट्टराईले आउँदो संसद् अधिवेशन सहज र निर्बाध ढङ्गले अघि बढाउन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सहितका राजनीतिक दलहरू सहमतिमा आउनुको विकल्प नभएको बताए ।
राज्यका निकायबाट सम्भव नभए छानबिनको अन्तिम अस्त्रको रूपमा मात्र संसदीय छानबिन समिति बनाउनुपर्ने समेत उनले बताए । गलत क्रियाकलाप माथि छानबिन र दण्डित हुनुपर्नेमा सबैको एकमत रहे पनि अन्तिम हतियारको रूपमा रहेको संसदीय छानबिन समितिलाई सुरुकै चरणमा प्रयोग गर्न त्यति उचित नहुने उनको भनाई थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो वैशाख २८ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका छन् ।
नेता भट्टराईले अहिले तत्कालै वाम एकताको ध्रुवीकरण सुरु भई नसकेको बताए ।
कोसी प्रदेश नामकरणको विरोधको प्रक्रिया समेत उप्काउँदै भट्टराईले प्रदेश नामकरणको सार्वभौम अधिकार सम्बन्धित प्रदेशसभामा निहित रहने दोहो¥याए ।
भट्टराईले एमाले ताप्लेजुङको जिल्ला अधिवेशनमार्फत पार्टीलाई बलियो र सुदृढ बनाउने नेतृत्व आउनुपर्ने धारणा समेत राखे ।
नयाँ नेतृत्व समेत चयन गर्ने गरी एमाले ताप्लेजुङको १२ औँ अधिवेशन वैशाख २४ र २५ गते हुँदै छ ।
प्रतिक्रिया