रौतहट - रौतहटको देवाहीगोनाही नगरपालिका–१ करुनियामा यही वैशाख ११ मा आगलागी हुँदा ७ घर नष्ट भए । समयमै दमकल नआउँदा स्थानीयको लाखौंको क्षति भयो । गौर नगरपालिकाको वारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा साँझ मात्र आगो नियन्त्रणमा लिइएको थियो ।
डिभिजन वन कार्यालयअन्तर्गतको गैंडाटार सबडिभिजनको घाटगद्दीमा गत चैत १९ मा आगलागी हुँदा सबै काठ नष्ट भए । आगो निभाउन जिल्लाभित्रका गौर र चन्द्रपुर नगरपालिकाका अलावा सर्लाहीको हरिवन, बाराको निजगढबाट दमकल बोलाउनुपरेको वन कर्मचारीले बताए ।
पछिल्लो समय तराई मधेशका विभिन्न जिल्लामा आगलागीका घटना बढेका छन् । आगलागीमा बस्ती सखाप भएका छन् । रौतहट पनि आगलागीको जोखिममा छ, तर पालिकाहरू दमकलको व्यवस्था गर्न उदासीन देखिएका छन् । जिल्ला प्रशासन कार्यालयले बेलाबेलामा पालिका प्रमुखहरूलाई बोलाएर दमकल किन्न निर्णय गराए पनि कार्यान्वयन हुन सकेको छैन ।
जिल्लाका १८ पालिकामध्ये गौर र चन्द्रपुर नगरपालिकासँग मात्र दमकल छ । सानाठूला आगलागीका घटनामा कतिपय पालिकाले छिमेकी जिल्ला बारा र सर्लाहीबाट दमकल मगाउने गरेका छन् ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीको पालामा २०७९ मंसिर १५ मा १८ वटै पालिकाका नगर प्रमुखलाई प्रशासनले एकरएकवटा दमकलको व्यवस्था मिलाउन निर्णय गराएको थियो । उक्त बैठकमा ईशनाथ, बृन्दावन, बौधीमाई, गुजरा, चन्द्रपुर र गौरका नगर प्रमुखहरू उपस्थित थिए । पालिकाले दमकल किन्न चासो दिएनन् ।
२०७९ चैत २४ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले पनि पालिका प्रमुखहरूलाई बोलाएर यस्तै अर्को निर्णय गराए । प्रशासनका नायब सुब्बा रामनरेश साहका अनुसार त्यतिबेला सबै पालिकाले समन्वय गरी आगामी आर्थिक वर्षको बजेटमा दमकल किन्न बजेट छुट्याउने निर्णय भएको थियो । ‘नगर प्रमुखहरू आएर हुन्छ, बजेटमा पार्छौं भनेर निर्णयमा हस्ताक्षरसमेत गरेर जानुभयो,’ उनले भने, ‘अहिलेसम्म दुईवटा बाहेक कुनै पालिकाले दमकल किनेका छैनन् ।’
विपद् व्यवस्थापनको छलफलमा तत्कालीन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले एउटै पालिकाले नसके अरूसँग मिलेर किन्न अनुरोध गरेका थिए । तर उनको कुरासमेत पालिकाका प्रमुखहरूले सुनेनन् ।
त्यतिबेला परोहाका नगर प्रमुख शेख वकिलले छिमेकी राजपुर, इशनाथ, यमुनामाई र बौधीमाई नगरपालिकासँग मिलेर दमकल किन्ने विषयमा छलफल भएको बताए । ‘एउटामात्र पालिकाले किन्दा कर्मचारीलगायतको खर्च धान्न गाह्रो हुन्छ,’ उनले भने, ‘पाँचवटा नगरपालिका मिले सहजै खरिद गर्न सकिन्छ र कर्मचारी राख्नसमेत समस्या हुँदैन ।’
गौर र चन्द्रपुरको दूरी ४२ किलोमिटर छ । यसको बीचमा पर्ने कुनै पनि पालिकासँग दमकल छैन । जिल्लाको पश्चिम विजयपुर, पूर्वी समनपुर, धरमपुर लगायतको क्षेत्रमा आगलागीका घटना भएमा समस्या हुने भन्दै प्रशासनले पालिकाको ध्यानाकर्षण गराउँदै आएको छ ।
गौर नगरपालिका प्रमुख शम्भु साहले एउटा मात्र दमकलले जिल्लाभरि थेग्न नसक्ने बताए । बृन्दावनका नगर प्रमुख विनोद पटेल बजेट अभावले वारुणयन्त्र खरिद गर्न नसकेको बताउँछन् । ‘हामीसित आन्तरिक आम्दानी पनि त्यति छैन । नदीजन्य वस्तुको ठेक्का लगाउन पाइएन,’ उनले भने, ‘दमकल एकदमै आवश्यक छ, तर बजेटकै कारणले चुप बसेका छौं ।’
आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया