फिदिममा पढ्दै कमाउँदै

मंगलबार, २५ बैशाख २०८१
पाँचथर / हामी विद्यालयमा पढ्छौँ मात्र । कमाईको कुरा त पढाइ पुरा भइसकेपछि मात्र हुने गरेको छ । तर पाँचथरको फिदिम नगरपालिकाले शिक्षालाई श्रमसँग जोड्दै आएको छ । नगरपालिकाले पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत शिक्षालाई श्रमसँग जोड्दै आएको हो । पछिल्लो समय विद्यार्थीहरू सामाजिक सञ्जालसँग बढी घुलमिल भएको र सो काम गर्नका लागि नगरपालिकाले पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा ल्याएको नगरप्रमुख मित्रप्रसाद काफ्लेले बताए । उनका अनुसार विद्यार्थीलाई व्यवहारिक सिप प्रदान गर्न र पढाइसँगै कमाउन सकिने भएकाले सो कार्यक्रम ल्याइएको हो । विद्यार्थीले सिप सिकेर घरमा पनि काम सघाउने गर्छन् । विद्यार्थीलाई सामाजिक सञ्जालभन्दा अन्य सिपमूलक काम गरेर आर्थिक उपार्जन हुने भएकोले पढ्दै कमाउँदै अभियान ल्याइएको बताइएको छ । यसका साथै विद्यार्थीले अहिलेको सिकेको सिपले भविष्यमा पनि दीर्घकालीन रूपमा जीवनयापन गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रमुख काफ्लेको विश्वास छ । चालु आर्थिक वर्षदेखि सुरु गरेको सो कार्यक्रम सिद्धकाली माविबाट अभियानकै रूपमा सञ्चालन गरिएको नगरप्रमुख काफ्लेको भनाई छ । सुरुमा विद्यालयका ३२ जना विद्यार्थीलाई सीपमूलक तालिम दिइएको छ । नगरपालिकाले नगर सभाबाट पास भएसँगै उपमेयरसँग विद्यार्थी पढ्दै कमाउँदै शीर्षकमा ५ लाख बजेट विनियोजन गरेर सो कार्यक्रम अगाडी बढाएको हो । अभियानबाट विद्यार्थीहरूले स्थानीय स्तरमा नै उत्पादन हुने खेतीपातीदेखि विभिन्न सीपहरूमा ढाका टोपी बनाउने, बाँसबाट उत्पादन हुने सामग्री, मौरी पालन, लगायतका सिपमूलक तालिम प्रदान गरिएको छ । तालिमपछि विद्यार्थीले किताबी पढाइसँगै व्यवहारिक ज्ञान पाउने र आत्मनिर्भर बन्ने नगरपालिकाको अपेक्षा रहेको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार