काकाकुल धरान : धरानमा खानेपानीको हाहाकार, ‘श्रम अभियान’ले टरेन सङ्कट

बुधबार, २६ बैशाख २०८१
निशा राई धरान । पछिल्लो समय धरानमा खानेपानीको चरम अभाव भएको छ । वर्षौँदेखि पानीको सङ्कट व्यवहोर्दै आएको धरानमा यस बर्षपनि उही समस्या दोहोरिएको छ । धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ्ग(राई)को पहलमा खानेपानीको समस्या समाधान भएको बाहिरी चर्चा भए पनि धरानभित्रका गाउँ र टोलमा सङ्कट चुलिँदो छ । कुनै ठाउँमा दिन बिराएर पानी आउने गरेको छ भने कुनै ठाउँमा साता दिनसम्म पनि पानी नआएको सर्वसाधारणको गुनासो छ । मेयर साङपाङ्गको पहलमा श्रमदानबाट खानेपानीको नयाँ स्रोतहरू थपे पनि धरानवासी काकाकुल अवस्थामा छन् । विगत केही महिनादेखि कोकाहा खोलाको पानी ल्याउन श्रमदान अभियान चलिरहे पनि परिणाम देखिएको छैन । फागुनयता धरानवासी खानेपानीको चरम अभाव खेपिरहेका छन् । केही दिनअघि पानीको अभावको कारण नगरवासीले नगर नगरप्रमुख साङपाङ्गको कार्यकक्षमा घेराउ समेत गरेका थिए । प्राय:धारामा पानी एक दिन बिराएर करिब आधा घण्टा जति आउने गरेको भए पनि हाल भने हप्ता दश दिन बित्दा समेत नआएको धरान उप महानगर–१७ निवासी पुष्पा राईले बताइन् । पानीको अभावको कारण आफ्नो काममा पनि जान अवरोध भइरहेको उनले बताइन । ‘कहिलेकाँही पानी किनेर चलाउन सकिन्छ तर हप्ता–दश दिनसम्म नआउँदा सधैँ किनेर खान सकिँदैन’,उनले भनिन् । विगतको वर्षहरूमा भन्दा यस वर्ष झनै पानीको अभाव धेरै भएको धरान–१२ निवासी भुवन कुमार राईले बताए । ‘दिन बिराएर पानी आए पनि आधा घण्टा जति आउँछ । त्यसमा पनि मोटर लगाएर तानेपछि मोटर नभएकाहरुकोमा धारामा सानो पानी झर्छ । दुई सय लिटरको सानो टङ्की भरिन मुस्किल भएकाले पानी किनेर पिउनुपर्ने बाध्यता छ,’ उनले समस्या सुनाउँदै भने । कोठा भाडामा बस्ने विद्यार्थी एलिना मगरले पनि खानेपानीको दुःख व्यवहोरिरहेको सुनाइन । धारामा पानी थोरै नै आउँछ त्यसमा पनि कोठा भाडामा बस्ने धेरै छन् र घरवालाले आफूलाई राखेर पानी दिँदा सबै भाडामा बस्नेलाई नपुग्ने गरेको उनले बताइन । आफू विद्यार्थी भएकाले सबै थोक किनेर खानुपर्ने र हिजोआज पानी पनि दैनिक रूपमा किनेर खानुपर्दा कोठामा बसेर पढ्न नै नसक्ने अवस्था आइसकेको विद्यार्थी मगरले भनिन । ‘पानी किनेर खाने अवस्था छैन । धारामा आउँदैन । यसले हामी विद्यार्थीलाई दोहोरो मानसिक समस्या भइरहेको छ । पैसाको अभाव एकातिर छ भने पानीको हाहाकार हुँदा धरानमा डेरा गरी बस्ने अवस्था छैन,’ उनले दुखेसो सुनाइन । शुभम् खानेपानी ट्याङ्करका चालक अशोक मुडेलले धरानमा पछिल्लो समय धेरै नै पानीको हाहाकार भएको बताए । दिनमा १५ देखि २० पटक पानी ट्याकंरमा ओसारिरहेको उनले सुनाए । एक पटकमा ट्याक्करमा दुई हजार लिटरदेखि ८ हजार लिटरसम्म विक्री गर्ने गरेको उनले बताए । पानीको माग अत्यधिक बढेकाले ट्याङ्करहरू पनि लाइन लाग्नुपरेको उनले बताए । यसमा पनि सुरुमा अर्डर गरेका उपभोक्ताहरूले मात्र सुरुमा पाउने गरेका हाल पहिले नै अर्डर गरेकाहरूको सुरुमा पाउने गरेको ट्याङ्करको चालक मुडेलले बताए । पानीको मुहान नै सुकेका कारणले धरानमा पानीको अभाव हुनु स्वाभाविक रहेको स्थानीय बुद्धिजीवी राजेन्द्र शर्माले बताए । त्यसमा पनि धरान आसपासमा ६ महिनादेखि आकाशबाट पानी नपरेका कारण मुहान सुक्दा पानीको अभाव हुने स्वाभाविक भएको उनको भनाइ छ । सर्दुखर्दुको खहरे पनि सुकेको र सर्दुखर्दुको भरमा बसेका बासिन्दाहरूले दुःख पाउँछन् नै त्यसमा कुवामा पनि बोर्डिङको पम्पहरुं धेरै लिकेज भएको र खेर गइरहेको शर्माको भनाइ छ । एसियाली विकास बैङ्क(एडिबी)ले १ करोड ५२ लाख लिटर पानी ल्याउने भने पनि भनेजती पानी उत्पादन गर्न नसक्दा थप समस्या आएको उनको भनाइ छ । नगर प्रमुख साम्पाङ्गको अगुवाइमा श्रमदानबाट ल्याएको पानी थोरै भएको, जनसङ्ख्या धेरै रहेको र लिकेज(चुहावट) भएको पम्पहरूको मर्मत सम्भार नभएका कारणले पनि पानीको अभाव भएको उनले बताए । पुरानो पानीको स्रोतको अभाव, व्यवस्थापकीय कमजोरी र एसियाली विकास बैङ्कले धोका दिएकाले सङ्कट भएको बुद्धिजीवी शर्माको भनाइ छ । धरानको खानेपानी समस्या व्यवस्थापन गर्न प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट बेल खन्ने काम भइरहेको धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र विक्रम बेघाले बताए । जसमा जम्मा तीन वटा बेल खन्ने र करिब ६० लाख लिटर दैनिक पानी उत्पादन गर्ने अनुमान गरिएको उनले बताए । यसपछि धरानको खानेपानीको समस्या समाधान गर्नलाई ठुलो टेवा उपप्रमुख बेघाले बताए । धरानलाई चाहिने पानी जम्मा करिब तीन करोड लिटर हो । सुख्खा याममा धरानको पुरानो सबै स्रोतहरूबाट दैनिक करिब एक करोड ६० लाख लिटर, नगर प्रमुखज्यूको नेतृत्वमा श्रमदान र जन सहयोगबाट थपिएको (कोकाहा, सर्दु, खर्दु लगायतको) मुहानबाट करिब १० लाख लिटर हो भने अझै धरानलाई आवश्यक करिब १ करोड ३० लाख लिटर पानी अभाव रहेका कारण धरानमा पानीको समस्या विकराल रहेको उनको भनाइ छ । सन् २०१२ देखि सुरु भएको एकीकृत सहरी विकास आयोजनाअन्तर्गत करिब २ अर्ब रुपैयाँ बजेटको धरान खानेपानी योजनाले दैनिक १ करोड ५२ लाख लिटर भूमिगत पानी चारकोसे जङ्गलबाट आपूर्ति हुने भनिएको थियो । तर अझै पर्याप्त आपूर्ति हुन नसक्दा सङ्कट नटरेको हो । जनगणना–२०७८ अनुसार धरानको जनसङ्ख्या १ लाख ६६ हजार ५ सय ३१ छ । दुई दशकयता जनसङ्ख्या र बस्ती विस्तारसँगै धरानमा खानेपानीको सङ्कट पेचिलो बन्दै गइरहेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार