"दल परिवर्तन गर्दै चुनावी प्रतिस्पर्धा" : 'हेभिवेट' उम्मेदवार

सोमबार, २६ माघ २०८२

लुम्बिनी : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी बढेसँगै पश्चिम नवलपरासीको चुनावी माहौल रोचक बन्दै गएको छ।

निर्वाचनका लागि जिल्लाका दुई निर्वाचन क्षेत्रबाट २३ स्वतन्त्रसहित कुल ५५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

यस पटकको निर्वाचनमा वर्षौँदेखि आबद्ध दल त्यागेर नयाँ चुनाव चिन्हका साथ मतदातामाझ पुग्ने उम्मेदवारहरूको सङ्ख्या उल्लेख्य देखिएको छ।

क्षेत्र नम्बर १:  त्रिपक्षीय भिडन्त र 'सर्प्राइज' उम्मेदवार निर्वाचन क्षेत्र नम्बर १ मा मुख्य दलका उम्मेदवारहरू नै दल परिवर्तनको सूचीमा अगाडि छन्।

हृदयेश त्रिपाठी : राजनीतिका चतुर खेलाडी मानिने त्रिपाठी यस पटक जनता समाजवादी पार्टी (जसपा) नेपाल बाट चुनावी मैदानमा  छन् ।

२०७४ मा एमालेको सूर्य चिन्हबाट जितेका र पछि आफ्नै नेतृत्वमा जनता प्रगतिशील पार्टी गठन गरेका त्रिपाठी फेरि नयाँ समीकरणका साथ चुनावी मैदानमा छन् ।

विक्रम खनाल : नेपाली काँग्रेसका लुम्बिनी प्रदेशका पूर्व महामन्त्री खनाल यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हुन् । काँग्रेसबाट टिकट नपाउने सङ्केत पाएपछि खनाल  रास्वपाबाट  चुनावी मैदानमा छन् ।

सिन्धु जलेसा बुढाथोकी :  नेकपा एमालेकी पूर्व सांसद बुढाथोकी हाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार छन् ।

यस क्षेत्रमा नेपाली काँग्रेसका तर्फबाट उद्योगी विनोद चौधरी पनि पुनः चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ, जसले गर्दा यहाँको भिडन्त निकै चुनौतीपूर्ण हुने देखिन्छ।

क्षेत्र नम्बर २: 'किल्ला' फेर्दै र दल बदल्दै उम्मेदवार निर्वाचन क्षेत्र नम्बर २ मा पनि पुराना अनुहारहरू नयाँ दलबाट प्रतिस्पर्धामा छन्।

देवेन्द्र पौडेल  'सुनील' : बागलुङ-२ लाई आफ्नो राजनीतिक किल्ला बनाउँदै आएका पूर्वमन्त्री देवेन्द्र पौडेल 'सुनील' यस पटक क्षेत्र परिवर्तन गरी पश्चिम नवलपरासी-२ बाट नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवार छन् ।

नेकपा (माओवादी केन्द्र) को पृष्ठभूमिबाट हाल नेकपाको साझा उम्मेदवार बनेका देवेन्द्र पौडेल 'सुनील' प्रतिस्पर्धामा छन् ।

नरेन्द्रकुमार गुप्ता:  काँग्रेसको राजनीतिमा लामो समय बिताएका र रामग्राम नगरपालिकाको पूर्व मेयर समेत रहेका गुप्ता यतिबेला रास्वपा बाट उम्मेदवार हुन् ।

लेखनाथ खरेल :  ३१ वर्ष नेकपा एमालेमा बिताएर बिचमा माओवादी केन्द्र प्रवेश गरेका खरेल पुनः एमाले मै फर्किएर उम्मेदवार बनेका छन् ।

एमालेका आधिकारिक उम्मेदवार भगौति यादवले अन्तिम समयमा चुनाव नलड्ने घोषणा गरेपछि खरेलले 'चिठ्ठा' परेझैँ टिकट पाएका हुन् ।

गोविन्द चौधरी:  राष्ट्रिय मुक्ति पार्टी नेपालका तर्फबाट  पूर्व शिक्षा, विज्ञान तथा प्रविधि राज्य मन्त्री  गोविन्द चौधरी चुनावी दौडमा छन् ।  

विभिन्न मधेश केन्द्रित दलहरू हुँदै अहिले राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवार बनेका चौधरीसँग पनि शिक्षा राज्यमन्त्रीको रूपमा कार्य गरेको अनुभव छ।

मतदाताको गुनासो पद र टिकटका लागि चुनावको मुखमा दल बदल्ने प्रवृत्तिप्रति स्थानीय मतदाताहरूले भने असन्तुष्टि जनाएका छन्।

"एउटै दलमा अडिग नरही चुनावको समयमा विचार र सिद्धान्त त्याग्ने प्रवृत्तिले राजनीतिक स्थिरता दिँदैन," स्थानीय मतदाताले गुनासो छ ।

आगामी फागुन २१ गते हुने यस निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ भने जिल्लाभर ९७ मतदान केन्द्र र १२२ मतदान स्थल तय गरिएको छ।

जिल्लाका दुई निर्वाचन क्षेत्रबाट २३ स्वतन्त्रसहित कुल ५५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। 

प्रतिक्रिया

पुरुषोत्तम सुवेदी
लेखकको बारेमा
पुरुषोत्तम सुवेदी

सम्बन्धित समाचार