इलाम: स्वदेशकै जागिर र व्यवसाय छाडेर कोरिया जाने चक्करमा युवा, विश्वास र भ्रममा पर्दा लाखौँ रुपैयाँ डुब्यो

शनिबार, २९ बैशाख २०८१
मनोज दाहाल विराटनगर । पूर्वी नेपालका विभिन्न जिल्लाका युवाहरूलाई कोरिया पठाउने भन्दै लाखौँ रुपैयाँ ठगी भएको गुनासो बाहिर आएको छ । युवाहरूलाई कोरियाको पानी जहाज कम्पनीमा काम लगाउने भन्दै केही व्यक्तिले रकम असुल्दै ठगी गर्दै आएको पीडितहरूले बताएका छन् । इलाम र झापामा कम्पनी सञ्चालन गरेर नै केही व्यक्तिले युवाहरूबाट रकम असुल्दै आएको प्रमाणहरू धमाधम फेला पर्न थालेको छ । प्रदेश खबरले केही महिना यतादेखि गरिरहेको गहन खोज अनुसन्धानले ठगिएका प्रमाणहरू फेला पारेको हो । प्राप्त जानकारी अनुसार कोरिया जान पहिला तालिम आवश्यक पर्ने भन्दै सुरुमा तालिम दिएको, वल्डिङ सम्बन्धी तालिम दिनका लागि प्रति व्यक्ति एक लाख रुपैयाँ माथि रकम असुलेको पाइएको छ । सुरुमा एक लाखको हाराहारीमा रकम लिएर युवाहरूलाई तालिम दिइएको थियो । सीप सिक्न भन्दै सुरुमा ९१ हजार रुपैयाँ तिरेर तालिम लिएको र स्किल टेस्ट भन्दै पुनः २४ हजार रुपैयाँ बुझाएको युवाहरू बताउने गर्छन् । बिना प्रमाण, हातमा क्यास रकम दिएर युवाहरूले तालिम लिएको, तालिम पश्चात् स्किलटेष्ट भन्दै युवाहरूलाई काठमाडौँ लगिएको थियो । स्किल टेस्ट पास भएका युवालाई विभिन्न बहानामा एजेन्टले कोरिया भने पठाउन सकेनन् । सुरुमा इलामका सुरेन्द्र राईले युवालाई कोरिया पठाउने भनेर रकम असुल्न थालेका थिए । पछि काठमाडौँमा पुगेर स्किल टेस्ट गराएका युवाले पुनः झापामा नेत्र पोख्रेलबाट काम सिकेका थिए तर हालसम्म न राईले कोरिया पठाए, न पोख्रेलले नै पठाउन सकेका छन् ।
सुरुमा कोरिया पठाउने भनेर इलाम नगरपालिका ७ को ठुलो टुँडिखेल छेउमा राईले ट्रेनिङ सेन्टर सञ्चालन गरेर काम सिकाए । उनले एसइई स्किल ट्रेनिङ सेन्टर नामक कम्पनी नै खोलेर कोरिया पठाउने भनेर काम थाले । पछि उनले पठाउन नसक्ने भन्दै इलामकै नेत्र पोख्रेलले झापाका ट्रेनिङ सेन्टर सञ्चालन गरेर नै काम थालेका हुन् । करिब एक वर्ष अगाडीदेखि नै युवाहरूलाई केही व्यक्तिले यसरी मनपरी रकम असुल्ने काम गरिरहेका छन् ।
सामान्य जीवनयापन गर्न काम छाडेर इलामका युवाले कोरिया पठाउँछु भन्नेहरूलाई रकम बुझाएका थिए । सात दिनदेखि एक महिनामा कोरिया पुगिसक्ने आश्वासन पाएका युवा एक वर्षदेखि पर्खिरहेका छन् । अझै पनि उनीहरू कोरिया जान सक्ने कुनै पनि विश्वासिलो आधार भेटाएका छैनन् । राम्रो कमाई हुने आशामा इलाम देउमाईका दीपक आचार्यले गत वर्षको फागुनमा वल्डिङको तालिम लिएका थिए । सुरुमा ९१ हजार लगानी गरेर तालिम लिएका उनले पुनः काठमाडौँमा स्किल टेस्टका लागि भन्दै थप २४ हजार रकम थप गरेका थिए । उनीसँगै रमेश कट्टेल र वसन्त पोख्रेलले समेत उस्तै लगानी गरे । निकै राम्रो कमाई हुने सपना बाँडेर तालिम दिइए पनि कोरिया पठाउँछु भन्नेले विभिन्न वहानमा नपठाएको उनीहरूले बताए । पछि कोरिया पठाउन नसकेपछि गएको मङ्सिर अन्तिममा उनीहरूले एक लाख रकम फिर्ता पाएका थिए । सीप सिकुन्जेलको खर्च, काठमाडौँमा करिब एक महिनाको बसाई लगायतमा अन्य रकम खर्च भए पनि तालिम सिकाउने सुरेन्द्र राईलाई एक लाख १५ हजार रकम दिएका थिए । तर उनीहरूले १५ हजार पाएनन् । उनीहरू त प्रतिनिधिमूलक पात्र मात्र हुन् । भीम बिसुंखे, विनोद न्यौपानेलगायतले इलाम बजारमा व्यवसाय गर्दै आएका थिए । उनीहरूले कोरिया गएर मोटो रकम कमाउने आशाले गर्दै आएको व्यवसाय नै छोडेर कोरियाको चक्करमा लागेका थिए । व्यवसायी मात्र होइन सरकारी कर्मचारी समेत उत्तिकै सङ्ख्यामा कोरियाको चक्करमा लागेर पैसा तिर्दै तालिम लिएका थिए । जिल्ला प्रशासन कार्यालयमा कार्यरत स्थायी कर्मचारी प्रकाश न्यौपाने समेत तालिम लिए । धन्न उनले जागिर भने छोडेका थिएनन् । जिल्ला प्रशासन कार्यालय इलाममा नै कार्यरत सुदीप काफ्लेले समेत सीप सिकेर कोरिया जाने बाटो समाएका थिए । उनीहरूले समेत पछिल्लो समय पैसा फिर्ता लिइसकेका छन् । तालिम लिएकै अन्य केहीले रकम मागेकै छैनन् । केहीको लाखौँ रकम डुबिसकेको छ ।

केही युवाको रकम फिर्ता

कोरिया कामदारको रूपमा पठाउने भन्दै ठगी गरेको पाइएपछि केही युवाहरूले जिल्ला प्रशासन कार्यालय प्रशासनमा उजुरी दिए । उजुरी पछि केही युवाको रकम फिर्ता भइसकेको छ । दुई सय माथि युवाले सुरुमा रकम तिरेर काम सिकेका थिए । केही युवाको रकम फिर्ता भएको छ भने केहीको अझै भएको छैन । सरकारले भाषा पास नगरी कोरिया जान नपाइने भने पनि इलामबाट सोझै कोरिया पठाउने भन्दै पैसा उठाउँदै तालिम सञ्चालन गर्दा पनि प्रशासनले एक्सन लिन नसकेको गुनासो छ । तालिम सेन्टर अवैधानिक रूपमा सञ्चालन भएको र नियम विपरीत कोरिया लैजाने भन्दै १६ लाख रकम लाग्ने भन्ने अडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत परेको थियो । जिल्ला प्रशासन कार्यालय इलाममा केहीले ठगिएको भन्दै उजुरी हालेपछि उनीहरूको केही रकम फिर्ता भएको थियो । रकम पाएकाहरूले समेत आधा रकम मात्र पाएको बताउँदै आएका छन् । कोरियामा कामदारको रूपमा पठाउने भन्दै आश्वासन दिएर ठगी गरिरहेको थाहा पाएपछि यस्तो भ्रममा नपर्न जिल्ला प्रशासन कार्यालय इलामले अनुरोधसम्म गरेको थियो । झापाको मुस्कान इन्जिनियरिङसँगको मिलेमतोमा गैर कानुनी रूपमा तालिम सञ्चालन गरिरहेको भन्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लाई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय इलामले पत्र समेत पठाएको थियो । पत्रपछि परिषद्ले मुस्कान इन्जिनियरिङलाई सोधेको स्पष्टीकरणमा आफूले कसैलाई पनि सहमति नदिएको भन्ने जवाफ आएपछि एसइई स्किल ट्रेनिङ सेन्टरलाई सिटिइभिटिइले अनुसन्धान पनि गर्‍यो । तर अनुसन्धान पछि के रिपोर्ट बन्यो सार्वजनिक भएन । पहिले इलाममा तालिम सिकेर राईबाट पीडित भएका युवाहरू पुनः केही हुन्छ की भनेर झापामा पोख्रेल सम्म पुगेका हुन् । त्यहाँबाट थप पीडित बनेको पीडितहरूको गुनासो छ । पछिल्लो समय झापा र काठमाडौँसम्म पुग्दा पनि पार लाग्न सकेको छैन । जिल्ला समन्वय समिति इलाममा कार्यरत नवीन पाण्डे जागिर छोडेर यसैमा लागेका छन् । सुरुमा आफैँ कोरिया जाने भनेर जागिर छोडेका उनी पछि न आफैँ जान सके न अरूलाई पठाउन नै सफल भए ।उनीहरू त प्रतिनिधिमूलक पात्र मात्र हुन् । जिल्लामा नै बसेर राजनीति गर्ने, मन्त्रालयका कर्मचारीदेखि कोरियामा नै बस्नेहरूको समेत नाम कहिलेकाहीँ चर्चामा आउने गरेको छ ।

माङ्सेबुङ र फाकफोकथुमबाट गए कोरिया

यसअघि इलामबाट युवा कोरिया नगएका हैनन् । पढेर र मौसमी कामदार भन्दै पनि युवाहरू कोरिया गए । जिल्लाको माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाले युवाहरूलाई कोरिया पठाएको पाइएको छ । छ महिनाका लागि भनेर कोरिया गएका युवा तीन वर्ष बित्दा पनि फर्किएर आएका छैनन् । माङ्सेबुङ र फाकफोकथुममा अघिल्लो कार्यकालका जनप्रतिनिधिले नै कोरियाको एक कम्पनीसँग सम्झौता गरेर युवालाई विदेश पठाएका थिए । तर पछिल्लो समय स्थानीय तहले यसरी युवालाई विदेश पठाउन नसक्ने सङ्घीय सरकारले भनिसकेको छ । इलामकै अझै केही स्थानीय तहबाट समेत युवालाई कोरिया पठाउने प्रयास गरिरहेका छन् ।

कस्ता मान्छे तयार भए रकम बुझाउन ?

जिल्लाका राजनीति गर्ने युवादेखि पत्रकारहरूले सम्म रकम जम्मा गरेर विदेश जान तयार भएका थिए। जिल्लामा राम्रो व्यापार गर्ने युवाहरू समेत व्यापार छोडेर कोरिया जाने चक्करमा परे । शिक्षित र पढेलेखेका युवाहरू नै नै पीडित बनेका छन् । पढेलेखेका युवाहरूले अझै पनि आश्वासन पाएर पैसा माग्न सकेका छैनन् । उनीहरू अझै पनि कोरिया लैजाने आश्वासनमा नै छन् ।

तालिम सञ्चालकहरूको प्रतिक्रिया

यता तालिम सञ्चालन गर्ने सुरेन्द्र राईले पैसा फिर्ता दिन थालेको बताए । उनले दुई सय जनाले तालिम लिएको बताए । करिब डेढ सय जनाको पैसा फिर्ता भइसकेको र करिब पचास जनाको रकम फिर्ता गर्न बाँकी रहेको बताए । तालिम गराउँदा समेत खर्च भएकोले गर्दा आधा मात्र पैसा दिएको उनको भनाई छ । कतिपयलाई पुरै समेत फिर्ता गराएको उनको भनाई छ । ६ महिना वल्डीङको तालिम दिइएको भन्दै उनले पुन सीप वल्डीङको फारम खुलेपछि तालिम सञ्चालन गर्ने बताए । कम्पनी दर्ता गरेर चलाएको भन्दै उनले बाँकी पैसा पनि चाँडै दिने बताए । नेसनल टेक्निकल इन्स्टिच्युट सञ्चालक नेत्र पोख्रेलले प्राविधिक शिक्षा दिलाउने गरेको बताए । उनले ब्युटीसियन, कुक, वल्डीङलगायतका तालिम सो इन्स्टिच्युटबाट प्रदान गरिने बताए । ठगीमा आफ्नो संलग्नता नरहेको बताउँदै उनले भ्रम छर्न नहुने तर्क गरे । यता जिल्ला प्रशासन कार्यालय इलामका नासु नित्यानन्द घिमिरेले पटक पटक गरेर पीडित जिल्ला प्रशासन धाएको र रकम फिर्ता गर्न लगाएको बताए । पहिलो चरणमा करिब १८ जना, दोस्रो चरणमा १२ जनाले उजुरी दिएपछि रकम फिर्ता गर्न लगाएको उनको भनाई छ । पछि व्यक्तिगत रूपमा समेत रकम फिर्ता गराउन माग बढ्न थालेपछि राई आफैँले आफ्नोमा पठाउन आग्रह गरेको र पीडितलाई राई समक्ष नै पठाएको उनको भनाई छ । राईले समय लिएर रकम फिर्ता गराउने गरेको बताइको छ । राईले सञ्चालन गरेको तालिम केन्द्र अवैधानिक रहेको जिल्ला प्रशासन कार्यालयले यसअघि नै भनिसकेको छ । प्रशासन कार्यालय, रत्नकुमार बान्तवा पोलिटेक्निक इन्स्च्यिुटका प्रमुख सहितका टोलीले अनुगमन गरेर सिटीइभीटी समक्ष प्रतिवेदन पठाएको तर कारबाहीको कुनै जानकारी नआएको नासु घिमिरेले बताए । पीडित युवाहरू न काम न दाम भएर हाल विकल्पको खोजीमा रहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार