इटहरी । सहकारीका न्यूनतम सिद्धान्त, नियम र कानुनमा नचल्दा इटहरीका २१ वटा सहकारीमा बचतकर्ताले गरेको बचत जोखिममा परेको छ। स्थानीय सरकारको क्षेत्रभित्र पर्ने १२८ वटा सहकारीमध्ये २१ वटा सहकारीले नियम कानुन नमान्दा बचतकर्ताहरूको रकम जोखिममा परेको हो ।
नियम कानुन नमान्ने सहकारीहरूलाई बुधवार एक सूचना जारी गर्दै इटहरी उपमहानगरपालिकाको सहकारी शाखाले सहकारी संस्थाको साधारणसभाको प्रतिवेदनलगायत अन्य कागजात पेस गर्न १५ दिनको अल्टिमेटम दिएको छ ।
नगर सहकारी ऐन/ नगर सहकारी नियमावली अनुसार सहकारी संस्थाहरूले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र नियमानुसार साधारणसभा सम्पन्न गरेर साधारणसभा सम्पन्न भएको मितिले १५ दिनभित्र साधारणसभाको प्रतिवेदन नियामक निकायमा बुझाउनुपर्ने, कानुनी व्यवस्था रहेको ब्यहोरा पटक-पटक स्मरण गराउँदा पनि अटेर गर्ने २१ वटा सहकारीहरूको नामावली सार्वजनिक गरिएको नगर सहकारी शाखा प्रमुख वालकुमार पोखरेलले बताए ।
सहकारी ऐन र सहकारी नियमावली बमोजिम मासिक चौमासिक र वार्षिक प्रतिवेदन समेत नियमित रूपमा बुझाउन पटक-पटक ताकेता गर्दा नबुझाएकोले गर्दा १५ दिन भित्र बुझाउन निर्देशन दिएको छ ।
यसरी नियम अनुसार प्रतिवेदन नबुझाउने सहकारी संस्थाहरूमा सरस्वती कृषि सहकारी संस्था लिमिटेड,इटहरी–३, राजमार्ग कृषि सहकारी संस्था लिमिटेड, इटहरी ८ ,त्रिकोण कृषि सहकारी संस्था लिमिटेड, इटहरी–१३ , पार्वती कृषि सहकारी संस्था लिमिटेड, इटहरी १५, महक महिला कृषि सहकारी संस्था लिमिटेड, इटहरी–२० , हासपोसा महिला उपभोक्ता सहकारी संस्था लिमिटेड, इटहरी–२०, किसान हित बङ्गुरपालन सहकारी संस्था लिमिटेड, इटहरी–२०, प्रस्थान जडीबुटी सहकारी संस्था लिमिटेड, इटहरी–३ ,सहकारी संस्था लिमिटेड, इटहरी–२०, आयाम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी–५ , महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी–१ , त्रिलोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी–१२ रहेका छन् ।
यसैगरी छिन्ताङदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी –२०, दियो बचत तथा ऋण सहकारी संस्था लिमिटेड , इटहरी–३ ,मण्डली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी–३, हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी–४, सत्यवती महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी–१६ , वसुन्धरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी–६ , महेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड,इटहरी–९ , स्वाधीन सूचना सञ्चार सहकारी संस्था लिमिटेड, इटहरी–६ , गीताञ्जली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी–१२ रहेका छन् ।
कतिपय सहकारीहरू नाम मात्रको रहेको, कतिपयको कार्यालय नभेटिएको, कतिपयले साधारणसभानै नगरेको आदि पाइएको प्रमुख पोखरेलले बताए । १५ दिनभित्र साधारण सभाको प्रतिवेदन र मासिक, चौमासिक र वार्षिक प्रतिवेदन नबुझाउने सहकारीहरूलाई नियम अनुसार निष्कृय सहकारीको सूचीमा नामावली प्रकाशन गरेर कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ ।
पन्ध्र दिनभित्र पनि उपमहानगरको सम्पर्कमा नआए नगरले ती सहकारीहरूलाई पाँच लाख सम्म जरिवाना र खारेजसमेत गर्न सक्ने प्रावधान रहेको छ । विभिन्न शीर्षकमा आउने सरकारी अनुदान लिन र आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्न पनि सहकारी खोलिएको पाइएको छ ।
प्रतिक्रिया