धरानमा निरन्तर सामाजिक स्वास्थ्य क्लिनिक

मंगलबार, ०८ जेठ २०८१
धरान : “यति सजिलै सँग डाक्टरलाई देखाउन पाउदा सारै खुसी लागेको छ, हामी वृद्धहरूलाई यति सुविधा दिएकोमा यो संस्थालाई धेरै धेरै धन्यवाद” इलामबाट मुटुसम्बन्धी रोग भएका ८१ वर्षीय लालबहादुर विश्वकर्मा भने । विगत ८ वर्ष अघिदेखि यिनी मुटु रोगबाट ग्रसित छन् । डा. प्रशान्तलाई देखाउन थालेपछि निक्कै सहज भएको यिनी बताउँछन् । “मैले २ वर्षदेखि यो शिविरमा डा. प्रशान्तलाई देखाउन थालेको छु, दवाई पनि निःशुल्क पाउछु, सारै खुसी लागेको छ ।” विश्वकर्माले भने । त्यसैगरि सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष विजय डागाले यति सजिलोसँग डाक्टरलाई देखाउन पाएकोमा खुसी व्यक्त गरे । “म डा. को रेगुलर पेसेन्ट हु, परिवर्तनका लागि सामाजिक अभियानले यो शिविरको आयोजना गरेकोमा धन्यवाद” डागाले भने । विगत ३ वर्षदेखि परिवर्तनका लागि सामाजिक अभियानले निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको आयोजना गरिरहेको छ । अभियानले धरानका विभिन्न वडाहरूमा र धरान बाहिर पनि धेरै स्थानमा स्वास्थ्य क्लिनिक आयोजना गरिसकेको छ । अभियानका अध्यक्ष विष्णु बरालका अनुसार पूर्वको झापा गाउँपालिका देखि इनरुवा सम्मका धेरै ठाउँहरूमा यो क्लिनिक आयोजना गरिसकेको छ । करिब ६००० जनाको स्वास्थ्य  जाँच गरिसकेको यस शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहले स्वास्थ्य जाच गर्ने गर्दछन् । मुटु रोग, उच्च रक्तचाप र मधुमेह सम्बन्धीका बिरामीहरूको स्वास्थ्य जाँच गरिने यस शिविरमा सुगर टेस्ट र औषधि पनि निःशुल्क रूपमा वितरण गर्ने गरिएको छ । बि. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्सहरू निशा श्रेष्ठ, उषा चौधरी, रमला गुरागाईँ, रेणुका चौधरी, निर्मला बास्तोला, एलिना केसी, श्वेता भण्डारी र धरान उपमहानगरपालिकाका वडा नं. १२ मा कार्यरत स्टाफ नर्स चेतना परियारले यस शिविरमा क्रमैसँग स्वयम् सेवा समेत प्रदान गर्ने गरेका छन् । स्टाफ नर्सहरूले रक्तचाप परीक्षण र सुगर टेस्ट गर्ने गर्दछन् । शिविरको शुभारम्भ देखि हालसम्म पनि शिशिर बराल यस शिविरको संयोजक रहेका छन् । निकै नै व्यस्त रहेका डा.प्रशान्त शाह यस शिविरमा स्वास्थ्य जाच गर्न पाउदा निक्कै नै हर्षित देखिन्छन् । “शनिवारको दिन परिवारलाई दिने समय छोट्टाएर पनि समाजसेवा गर्न पाउदा मन आनन्दित हुन्छ” डा.शाह बताउँछन् । धरान, चतरा, इटहरी, झापा, इनरुवामा सम्पन्न भइसकेको यस शिविर विभिन्न संस्थाहरूसँग सहकार्य गरेको आयोजना गर्ने गरिएको अध्यक्ष बरालले बताए । ५८ औँ संस्करण धरान उच्चमा यसै गरी यस शिविरको ५८ औँ संस्करण धरान उच्च माविसँगको सहकार्यमा सम्पन्न भएको छ । ८८ जना बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको यस शिविरमा निःशुल्क सुगर जाच र औषधि वितरण समेत गरिएको थियो । धरान उच्च माविका पूर्व प्राचार्य राजविमल श्रेष्ठले अभियानसँग सहकार्य गर्न पाएकोमा हर्ष व्यक्त गरेका थिए । “यो शिविरले निरन्तरता पाओस् भन्ने शुभेच्छा व्यक्त गर्दछु” श्रेष्ठले भने । मोहन श्रेष्ठ, वर्षा श्रेष्ठ, हेम ढकाल, जेनिश शाक्य, शिशिर बराल लगायतका अभियान्ताहरुको सहभागिता रहेको शिविरमा स्टाफ निशा श्रेष्ठ र रेणुका चौधरीले रक्तचाप र सुगर परीक्षण गरेका थिए ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार