इलाम / चिया र अलैँचीको राजधानीको रूपमा परिचित इलाममा यसको अनुसन्धान केन्द्र स्थापनाको काम अगाडी बढेको छ । हाल दुई वटा भवन निर्माणको काम भइरहेको छ । चिया र अलैँची अध्ययन सँगै यस क्षेत्रमा लाग्न किसानहरूमा समेत हौसला थपिएको छ ।
चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापनाको काम अगाडि बढेपछि किसानमा नयाँ जोस पलाएको छ । इलाम नगरपालिका १ शाखेजुङमा यसको भवन निर्माणको काम भइरहेको हो । राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धान केन्द्र स्थापना हुने भएको हो । चिया र अलैँची बढी उत्पादन हुने क्षेत्रमा अनुसन्धानका लागि केन्द्र स्थापना गर्ने भएपछि जिल्लावासी समेत खुसी भएका छन् ।
जग्गा प्राप्तिसँगै कार्यालय स्थापनाको काम सुरु गर्न लागिएको छ । यसका लागि कार्यालयको भवन निर्माणका लागि चालु आर्थिक वर्षका लागि दुई करोड ३८ लाख रुपयाँ बजेट विनियोजन भइसकेको छ । हाल भौतिक निर्माणका कार्य भइरहेको र अब चिया प्रशोधन केन्द्र निर्माण गरिने बताइएको छ ।
अनुसन्धान केन्द्रका लागि इलाम नगरपालिका– १ स्थित साँखेजुङमा ४२ रोपनी जग्गा व्यवस्थापन गरिएको छ । विनियोजित रकमबाट जग्गामा कम्पाउन्डका लागि तारबार र कार्यालय भवन निर्माण गरिने छ । अनुसन्धान केन्द्रका लागि अब थप ५२ रोपनी जग्गा आवश्यकता परेको छ ।
जग्गा दाताहरूले अनुसन्धान केन्द्रका लागि सो जमिन समेत उपलब्ध गराउने कार्य भइरहेको छ । यसका लागि इलाम इलाम नगरपालिका र एक नम्बर वडाले आवश्यक पहल गरिरहेको वडाध्यक्ष गायत्रीराम बस्नेतले जानकारी दिए ।
इलाममा धेरै किसानहरू चियामा आत्मनिर्भर छन् ।
उत्तिकै सङ्ख्यामा अलैँची किसानहरू समेत भएको जिल्लामा केन्द्र स्थापना हुने भएको हो । पछिल्लो समय चिया किसान बढे पनि अलैँची खेती गर्ने किसानहरू कम हुँदै गएका छन् । महँगो मूल्यमा अलैँची बिक्री भए पनि अलैँची मासिने क्रम नरोकिएकाले यसको खेती गर्ने किसानको सङ्ख्यामा कमी हुँदै गएको हो ।
अलैँचीको अनुसन्धान समेत यहीँ गरिने भएपछि अब यससँग सम्बन्धित किसानको सङ्ख्या हुने र अलैँची उत्पादनमा समेत वृद्धि हुने अपेक्षा लिइएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए । उनले इलाम नगरपालिकाकै पहलमा जग्गा ब्यवस्थापन लगायतका कार्य भइरहेको जानकारी दिए । यहाँ स्थापना गरिन लागिएको यो केन्द्रले चिया र अलैँची दुवै क्षेत्रमा अनुसन्धान गर्ने राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान केन्द्र पाख्रीवास धनकुटाका संयोजक हिमाल प्रसाद दाहालले बताए ।
सूर्योदय नगरपालिकास्थित पान्दाममा रहेको अलैँची विकास केन्द्रले अलैँची विस्तारको काम गरिरहेको छ । तर यो स्थापना हुन लागेको अनुसन्धान केन्द्रले अनुसन्धानको काम गर्ने छ । विसं १९२० मा चिया रोप्न सुरु गरिएको इलाममा भर्खरै मात्र सरकारले अनुसन्धान केन्द्र स्थापना गर्न लागेको हो । करिब एक सय ६० वर्ष पछि भए पनि यो केन्द्र स्थापना हुने भएपछि यहाँका किसानमा नयाँ उत्साह थपिएको छ ।
चिया किसान किशोर खतिवडाले केन्द्र स्थापनापछि बिचबिचमा चियामा लाग्ने स साना रोगहरूको पहिचान हुने र उत्पादन बढाउन किसानलाई सहज हुने बताए । उनले चिया प्राविधिक समेत गाउँमा नै उत्पादन गर्न सो केन्द्रले मद्दत गरेमा किसानलाई थप राहत मिल्ने बताए । यहाँ सामान्य चियामा उत्पादन नहुने, उत्पादन भएको चिया परम्परागत शैलीमा नै टिप्ने र प्रशोधन हुँदै आएको छ ।
तर स्थापना गर्न लागिएको केन्द्रले चिया र अलैँचीमा नयाँ आयाम स्थापना गर्न मद्दत पुग्ने किसानहरूको भनाई छ । अलैँची र चियामा लागि उत्पादनका हिसाबले इलाम महत्त्वपूर्ण र उर्भर भुमी मानिन्छ । इलाममा अनुसन्धान केन्द्र स्थापना पनि नेपाली चिया र अलैँचीको अनुसन्धान गर्न चाहनेहरूका लागि सहज हुने छ ।
स्वदेश र विदेशमा रहेका चिया अध्ययन, अवलोकन र अनुसन्धान गर्नेहरू समेत आउने हुँदा जिल्लामा पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने अपेक्षा लिइएको छ । यसले समग्र जिल्लाको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ । \
इलाममा उत्पादित चिया १० प्रतिशत नेपालमा, ७० प्रतिशत भारत र थप २० प्रतिशत तेस्रो मुलुक निर्यात हुने गरेको तथ्याङ्कमा उल्लेख छ । साथै अलैँची भारतको बाटो भएर अन्य मुलुकमा समेत जाने गरेको छ ।
इलाम नगरपालिका, राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान केन्द्र पाख्रीवास धनकुटाका, लगायत स्थानीयको टोलीले निर्माण स्थलको अनुगमन समेत गरेको छ ।
प्रतिक्रिया