पोलियोविरुद्धको खोप इलाममा दश हजारलाई दिइने

शनिबार, १२ जेठ २०८१
  इलाम / आगामी जेठ १४ गते देखि जेठ २१ गते सम्म इलाममा खोप अभियान सञ्चालन गरिने भएको छ । नेपाल सरकारले पोलियो रोग विरुद्धको आइपिभी खोप सञ्चालन गर्ने भएको हो । यो खोप बालबालिकालाई लगाइन्छ । इलाममा मात्र दश हजार आठ सय ८० बालबालिकालाई यो खोप दिइने भएको हो । जिल्ला स्वास्थ्य कार्यालय इलामले खोपको तयारी थालेको बताएको छ । जिल्लामा ९३ स्वास्थ्य संस्थामार्फत छ सय खोप केन्द्रबाट खोप लगाइने छ । जसका लागि एक हजार तीन जना स्वयंसेवक, एक सय ७० तालिम प्राप्त स्वास्थ्यकर्मीलाई खटाइने बताइएको छ । स्वास्थ्य कार्यालय इलामका खोप सुपरभाइजर गंगाधर पण्डितका अनुसार २०७३ वैशाख महिना देखि ०७५ असोज महिना सम्म जन्मिएका बालबालिकालाई यो खोप लगाइने छ । पोलियो विरुद्धको आइ पि भी खोपबाट छुटेका उक्त अवधिमा जन्मिएका बालबालिकालाई खोप दिने तयारी रहेको उनको भनाई छ । नेपाल सरकारले सन् २०२६ सम्ममा पोलियो रोग उन्मूलनको लक्ष्य लिएको स्वास्थ्य कार्यालय प्रमुख आदित्य शाक्यले बताए । नेपाल सरकारले यसपटक १४ लाख बालबालिकालाई पोलियो विरुद्धको खोप लगाउने तयारी गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार