पशुपतिमा भेटीदेखि मृत्यु संस्कारसम्म अनियमितता

विहीबार, १७ जेठ २०८१
काठमाडौँ : पशुपतिनाथ मन्दिरमा चढाएको भेटी, जग्गा, आरतीदेखि घाटमासमेत घोटाला हुँदै आएको छ। महालेखा परीक्षकको ६१औं प्रतिवेदनमा पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको बहुमूल्य द्रव्य, भेटीको अभिलेख प्राप्त भएकै समयमा मुचुल्का गरी राख्ने गरेको नपाइएको भन्दै प्रश्न उठाइएको छ।  
पशुपतिनाथ मन्दिरमा दान–दक्षिणा चढाउन नौवटा घ्याम्पो (तामाका गाग्रा जस्तै) राखिएका छन्। प्रत्येक ढोकामा दुई/दुईवटा र एउटा चन्दन राख्ने ठाउँमा यस्ता घ्याम्पा राखिएका छन्। नौवटा घ्याम्पामध्ये एउटा घ्याम्पो २०७९ माघ १० गते हरायो। त्यसमा दुई लाखभन्दा बढी रुपैयाँ रहेको अनुमान गरिएको थियो। घ्याम्पो हराएपछि सोधखोज भयो। सोधखोजपछि बिसेट नाइके अरूणकुमार श्रेष्ठले त्यसै दिन राति फलफूल पसलमा घ्याम्पो भेटिएको जानकारी गराए। यस विषयमा छानबिन गर्न पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य देवीप्रसाद बरालको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरियो। उक्त समितिले छानबिन समिति बनाउने प्रस्तावमा हस्ताक्षर समेत नगरेका तत्कालीन प्रशासन प्रमुख रेवतीरमण अधिकारीले प्रशासन संयन्त्रलाई चुस्त–दुरुस्त नराखेको तथा मन्दिरसम्बन्धी हेरचाह गर्ने गौरीशंकर पराजुलीले आफ्नो दायित्व पूरा नगरेको भन्दै दुवै जनालाई कारबाही सिफारिस गरेका थिए। अधिकारी अहिले कोषका प्रवक्ता छन्। छानबिन समितिले बिसेट नाइके श्रेष्ठ, आइटी सहायक आशीष गिरी र घ्याम्पाको साँचो राख्ने कर्मचारीलाई पनि कारबाही सिफारिस गरेको थियो।उक्त छानबिन समितिले २०७९ माघ २१ गते तत्कालीन पर्यटनमन्त्री सुदन किराती, पर्यटन सचिव सुरेश अधिकारी र कोषका सदस्य सचिव मिलन थापालाई प्रतिवेदन बुझाएको थियो। तर त्यो प्रतिवेदन सार्वजनिक गरिएन र कारबाही सिफारिसमा परेका कसैलाई पनि त्यसको भागीदार बनाइएन। दान–दक्षिणासहितको घ्याम्पो हराएको दुई वर्षपछि यही जेठ ९ गते सिसिटिभीसमेत छलेर भेटी चोरी भएको छ। भेटी गणनाका बेला चोरी भएको हो। भेटी चोरीमा संलग्न भएको आरोपमा पाँचजना पक्राउ परेका छन्। ‘हामीले बुझाएको प्रतिवेदन कार्यान्वयन भएको भए भेटी चोर्ने प्रवृत्ति पूरै निरुत्साहित हुने थियो। यस्तो घटना दोहोरिने थिएन,’ छानबिन समितिका संयोजक बरालले भने, ‘दुर्भाग्य ! प्रतिवेदन कार्यान्वयन भएन।’ भेटी गणनामा संलग्न पण्डित नवराज घिमिरेको आवासबाट प्रहरीले अबिर लागेको ३६ हजार रूपैयाँ बरामद गरेको छ। यसैगरी नायब सुब्बा नवराज घोडरीको आवासबाट पनि अबिर लागेको ६ लाख रूपैयाँ बरामद गरिएको छ। भेटी चोरीमा संलग्न भएको आरोपमा घिमिरे, घोडरीसहित अनिल परियार, सनिशा कपाली र कुमार दमाई पक्राउ परेका छन्। कोष स्रोतअनुसार परियारले प्रहरीसमक्ष भेटी चोरेबापत प्रत्येक दिन एक हजार पाँच सय रूपैयाँ पण्डित घिमिरेले आफूलाई दिने गरेको र बाँकी उनैले ‘माथिसम्म पुर्‍याउनुपर्छ’ भनेर लिने गरेको बयान दिएका छन्। ‘माथि’ भनेको को हो उनले नाम खुलाएका छैनन्। सम्भवतः कोषका पदाधिकारी हुन सक्छन्! कोषका अनुसार पशुपतिनाथ मन्दिरमा हरेक दिन साढे चार लाख रूपैयाँ भेटी जम्मा हुन्छ। संकलन भएको भेटी दैनिक गणना गरी कोषको परिसरभित्र रहेको एनएमबी बैंकमा जम्मा गरिन्छ। भेटी जम्मा गर्ने प्रक्रियाप्रति पनि महालेखाले प्रश्न उठाएको छ। घ्याम्पामा जम्मा भएको भेटी प्रत्येक दिन साँझ प्रहरीसमेतको उपस्थिति र सिसिटिभीको पहुँचमा गणना गरिन्छ। भेटी चोरीमा सलग्नले सिसिटिभीलाई अनौठो गरी छलेको पत्ता लागेको कोषका एक कर्मचारीले बताए। पूजा व्यवस्था नियमावली, २०६८ को नियम ७८ मा पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको सुनचाँदीका सामान, धातुका भाँडाकुँडा, वस्त्रलगायत जिन्सी सामग्री पूजा समाप्त भएपछि मुचुल्का गरी परिषद्ले तोकेबमोजिम ढुकुटीमा दाखिला गर्नुपर्ने व्यवस्था छ। आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार