इटहरी : त्रेतायुगमा मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रले धुनी वालेर वसेको स्थलको रूपमा रामधुनी क्षेत्र हिन्दु धर्मालम्वीहरूको एक पावन तिर्थस्थल मानिन्छ। भगवान विष्णुको अवतारका रूपमा श्रीरामचन्द्रलाई यहाँ श्रद्धापूर्वक पूजिँदै आएको छ।
पौराणिक विश्वास अनुसार, पिता तथा राजा दसरथको आज्ञामा १४ वर्ष वनवास वसेका श्रीरामचन्द्रले यस क्षेत्रमा धुनी बालेर साधना गरे। त्यसै कारण यस ठाउँलाई ‘रामधुनी’ भनिन्छ।
धार्मिक आस्थासँगै रामधुनी क्षेत्रको संरक्षण र विकासमा स्थानीय वासिन्दाहरूको योगदान पनि उल्लेखनीय छ।
साधक वावा वनखण्डीको पनि यस क्षेत्रमा ठूलो योगदान रहेको विश्वास छ। उनले यहाँ साधना गर्दै तराईमा फैलिएको घातक रोग औलो निको पारेको मान्यता रहेको छ।
वनखण्डी वावाको साधना स्थलको रूपमा समेत रामधुनी प्रसिद्ध छ। जनविश्वास अनुसार, यहाँका सालको रुखमा आँप फल्ने कथनले समेत यस स्थानलाई अद्भुत बनाएको छ।
रामधुनी अहिले कोशी प्रदेशको एक महत्वपूर्ण धार्मिक र पर्यटकीय स्थलको रूपमा परिचित छ। यहाँ रामनवमी, वालाचतुर्दशी, विवाहपञ्चमी जस्ता चाडपर्वमा दूरदूरबाट दर्शनार्थी आउने गर्छन्।
धार्मिक मेलामा सहभागी हुँदै आस्था र संस्कृतिको अनुभूति लिन यहाँ आउनेहरूको संख्या दिनानुदिन बढ्दो छ।
रामधुनीले धर्म, इतिहास र सांस्कृतिक महत्वको संगम भएर यहाँको पर्यटन र स्थानीय जीवनमा विशेष स्थान बनाएको छ।
प्रतिक्रिया