झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा झापा–५ मा प्रमुख दलभित्रै असन्तुष्टि चुलिँदै गएको छ । दल परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह ‘बालेन’को समर्थन गर्ने क्रम बढ्दै जाँदा यस क्षेत्रको चुनावी समीकरण परिवर्तन हुने संकेत देखिएको छ ।
नेपाली कांग्रेसका दमक नगर सभापति प्रकाश प्रसाईले पार्टी परित्याग गरी बालेनलाई समर्थन गरेको भोलिपल्ट नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडाले पनि संगठन र पार्टी सदस्यता परित्याग गर्दै बालेनको पक्षमा उभिने घोषणा गरेका छन् ।
खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत माघ ७ गतेदेखि आफू युवा संघको अध्यक्ष र एमालेको संगठित सदस्य पदबाट अलग भएको सार्वजनिक गरेका हुन् । ‘परिवर्तनलाई आत्मसात् गर्दै झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउने निर्णय गरेको छु,’ उनले उल्लेख गरेका छन् । उनले अब कुनै दलमा आबद्ध नरही स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेकोसमेत बताएका छन् ।
यसैगरी झापा क्षेत्र नम्बर ५ अन्तर्गत कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । बुढाथोकीले सामाजिक सञ्जालमार्फत कांग्रेस कमल गाउँपालिकाको सचिव तथा साधारण सदस्य पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् । कांग्रेसभित्रको आन्तरिक निर्णयप्रति असहमति जनाउँदै जिम्मेवार तहका नेताहरूले एकपछि अर्को गरी पद र सदस्यता परित्याग गर्न थालेपछि स्थानीय राजनीतिमा तरंग आएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको परम्परागत पकड मानिने झापा–५ मा संगठनभित्रैबाट भएको यो दलत्यागलाई अर्थपूर्ण रूपमा हेरिएको छ । स्थानीय राजनीतिक वृत्तमा यसपटकको निर्वाचन परम्परागत दलको पकडभन्दा बाहिर जान सक्ने आँकलन हुन थालेको छ ।
![]()
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाह झापामा चुनावी गतिविधि र समन्वयमा सक्रिय देखिएका छन् । उम्मेदवारी दर्तालगत्तै उनले पार्टीका अर्का उम्मेदवार तथा निवर्तमान उपसभामुख इन्दिरा राना मगरसँग भेटघाट र छलफल गरेका छन् । हिजो दमकमा उम्मेदवारी दर्ता गरेपछि साँझ बिर्तामोड पुगेका बालेन आज बिहान राना मगरसँग भेट गर्दै चुनावी रणनीति, संगठन विस्तार र क्षेत्रगत समन्वयका विषयमा छलफलमा जुटेका हुन् ।
पार्टी स्रोतका अनुसार उम्मेदवारहरूबीच सहकार्य र साझा रणनीतिका साथ चुनावी अभियान अघि बढाउने उद्देश्यले भेटवार्ता गरिएको हो । बालेनले झापा–५ का विभिन्न स्थानमा मतदाता भेटघाट, पार्टी कार्यकर्ता, शुभेच्छुक र समर्थकहरूसँगको भेटलाई तीव्र बनाएका छन् । पेशाले इन्जिनियर रहेका उनलाई झापाका इन्जिनियर समुदायले समेत सहयोग गर्ने तयारी गरेको जनाइएको छ ।
झापा–५ बाट नेकपा एमालेका अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहसहित २४ जनाले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । दलत्याग र समर्थनको लहरसँगै झापा–५ को चुनावी प्रतिस्पर्धा यसपटक अझ रोचक बन्ने देखिएको छ ।
प्रतिक्रिया