इटहरी । सुनसरीको इटहरीमा रहेको खनार बचत तथा ऋण सहकारी संस्थाबाट पीडित बनेकाहरूलाई प्रहरीले जाहेरी दिनका लागि आव्हान गरेको छ ।
झन्डै दुई करोड बचत रकम अपचलन भएको भनी इटहरी उपमहानगरपालिकाको सहकारी शाखामा उजुरी आएपछि प्रहरीले चार सञ्चालकलाई पक्राउ गरेको थियो ।
२५ दिनमा अदालतमा फाइल बुझाउनुपर्ने भए पनि पक्राउ परेको सञ्चालकहरूको अनुसन्धान बाँकी रहेकाले प्रहरी उनीहरूलाई हिरासतै राखेर अनुसन्धान गर्दै आएको छ ।
पीडितहरूको फसेको एकमुष्ट रकम कति हो भनेर उहाँहरू आफै आएर प्रहरीमा जाहेरी दिएपश्चात् फाइल बुझाउने तयारी रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक शम्भु बस्नेतले बताए ।
प्रहरीले जाहेरी दरखास्तको लागि आव्हान गरेसँगै इलाका प्रहरी कार्यालय इटहरीमा शुक्रवार दिनभर पीडितहरूले लाइन लागेर आफ्नो फसेको रकमसहित जाहेरी दरखास्त गरेका छन् ।
छोरीलाई कलेज पढाउनका लागि भनेर बाल बचत खाता खोलेर झन्डै एक लाख पचास हजार बढी बचत गरेकी निर्मला देवी अधिकारीले पनि शुक्रवार पीडितहरूको लाइनमा बसेर जाहेरी दिन खोजिन तर बचतको पासबुक सहकारीका सञ्चालक धर्मेन्द्र दासलाई दिएका कारण उनले जाहेरी दिन नपाएको गुनासो गरिन ।
जाहेरीका लागि नागरिकता र बचतको पासबुक अनिवार्य गरिएकाले धेरै पीडितहरूलाई समस्या परेको पीडित अधिकारीले बताइन । इलाका प्रहरी कार्यालयले जाहेरीका लागि सूचना आव्हान गरेपछि शुक्रवार मात्रै ६० जना बढीले सहकारी सञ्चालक विरुद्धमा फसेको रकमसहित जाहेरी दिएका छन् ।
सहकारीमा बचतकर्ताहरूको दुई सय रुपैयाँ माथि १५ लाख रुपैयाँसम्म रकम फसेको बुझिएको छ । झन्डै एक महिना अघि बचतकर्ताहरूले जम्मा गरेको रकम हिनामिना गरी फरार भएका संस्थाका अध्यक्ष इटहरी–४ निवासी सुदिप तामाङ, उपाध्यक्ष सरोज सिवाकोटी ,इटहरी १३ बस्ने संस्थाका सदस्य गोविन्दकुमार श्रेष्ठ र सप्तरी घर भएका संस्थाका व्यवस्थापक धर्मेन्द्र दासलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया