इलाम : इलाममा सञ्चालित प्रथम रेडहर्स इलाम फुटबल प्रतियोगितामा आयोजकलाई साढे २३ लाख माथि नाफा भएको छ ।
आयोजकले गरेको हिसाब सार्वजनिक प्रतिवेदन अनुसार नौ लाख ८८ हजार चार सय ९६ रुपैयाँ बैङ्कमा जम्मा छ ।
अन्य १३ लाख ८६ हजार दुई सय रुपैयाँ कबोल गरेर उठ्न बाँकी रहेको बताइएको छ ।
रेडहर्स फुटबल क्लबले गएको माघ ६ देखि १३ गतेसम्म इलामको ठुलो टुँडिखेलमा प्रतियोगिता सञ्चालन गरेको थियो ।
जसमध्ये गेटमनि मार्फत २० लाख ३४ हजार, दाताले व्यक्तिगत सहयोगबाट १३ लाख ७३ हजार छ सय पाँच रुपैयाँ, प्रायोजक एनआरएनए मार्फत पाँच लाख ८० हजार, इलाम नगरपालिकाबाट पाँच लाख, एक हजार गोटाको प्रि टिकटमार्फत चार लाख रकम सङ्कलन भएको छ ।
त्यस्तै गोर्खा ब्रुयोरी मार्फत दुई लाख, इलाम नगरपालिका ७ मार्फत एक लाख, इलाम नगरपालिका नगर खेलकुद शाखा मार्फत दुई लाख, तारा रोजु सापकोटा मार्फत एक लाख दश हजार रकम सहयोग प्राप्त भएको आयोजक रेडहर्ष फुटबल क्लबका सचिव प्रकाश घिमिरेले जानकारी दिए ।
अन्य आम्दानी मार्फत ६६ लाख २० हजार रुपैयाँ उठेको जनाइएको छ ।
त्यस्तै पुरस्कार, खेलमैदान मर्मत, यातायात, खाना तथा खाजा, रेफ्री, सेक्युरिटी, स्टेसनरी, प्रसार प्रचार लगायत गरेर ५६ लाख ३१ हजार रुपैयाँ खर्च भएको बताइएको छ ।
प्रतियोगितामा नेपालका सात र भारतको एक गरी आठ टिम सहभागी थिए ।
आगामी वर्ष समेत प्रतियोगितालाई अझ भव्य बनाउने तयारी सुरु गरिएको आयोजक समितिका अध्यक्ष साङ्गे यल्मुले जानकारी दिए ।
प्रतिक्रिया